सन्दीप भन्छन्– यो आईपिएल निकै महत्वपूर्ण छ, त्यसैले राम्रो गर्ने प्रयास गर्नेछु

आईपिएल खेल्ने यतिखेर युएईमा रहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले सिपीएलभन्दा राम्रो प्रदर्शन गर्न प्रयास गर्ने बताएका छन् । सन्दीपले सिपिएलमा ११ खेलमा १२ विकेट लिएका थिए।

लगातार तेस्रो सिजन आईपिएलको तयारी गरिरहेका सन्दीपले आफ्नो तर्फबाट शतप्रतिशत दिन हरसम्भव प्रयास गर्ने बताएका छन्।

छन् । उनले तेस्रो सिजन पनि दिल्ली क्यापिटल्सबाट आईपिएल खेल्ने छन् । आईपिएल खेल्नका लागि सन्दीप सिपिएल खेलेर उतैबाट युएई पुगेका हुन् । ‘कोरोना महमारीका कारण लामो समय रेस्ट गर्न पाएँ, सिपिएलमा राम्रो प्रदर्शन भयो,’ सन्दीपले भने, ‘आईपिएलका लागि निकै आत्मविश्वासी छु, त्यसैले सिपिएलभन्दा राम्रो गर्न प्रायस गर्ने छु।’

आइतबार साँझ सन्दीपको टिम दिल्लीले किंग्स इलाभेन पन्जाबसँग खेल्दै आईपिएलको सुरुवात गर्ने छन् । सन्दीपले यसअघिका आईपिएलमा कमैमात्र अवसर पाएका थिए । उनले पहिलो सिजन ३ र दोस्रो सिजन ६ खेल खेलेका थिए । दुवै पटक उनले अवसर पाउँदा आफूलाई प्रमाणित गरेका छन् । सन्दीपले पहिलो सिजन ५ र दोस्रो सिजन ८ विकेट लिएका थिए।

सन्दीपले आईपिएलका लागि आफू पूर्ण रुपमा तयार रहेको बताएका छन् । अघिल्लो सिजनहरुमा लगातार भ्रमण र खेलहरुले गर्दा मानसिक रुपमा तनाव हुने भएपनि यो पटक फ्रेस रहेको बताएका छन्।

युएईको पिच स्पिनरलाई सहयोग गर्ने खालको भएकाले सन्दीपले थप राम्रो गर्न सक्ने छन् । युएईको पिचमा थुप्रै खेल खेलिसकेकाले पनि सन्दीपले यसपटक उत्कृष्ट प्रदर्शन हुने अपेक्षा गरेका छन् । उनले भनेका छन्, ‘यूएईको विकेट बलर त्यो पनि स्पिनरलाई गर्ने खालको छ । टिममा परे राम्रो गर्ने आशा छ । भरतमा भन्दा युएईमा धेरै खेल खेलेकाले विकेट र कन्डिसनबारे थाहा छ, त्यसले त्यसै सहयोग हुने विश्वास छ ।’

दिल्लीमा अनुभवी भारतीय स्पिनरहरु रहेकाले टिम पर्न निकै कठीन हुने सन्दीपले बुझेका छन् । दिल्लीको टिममा पर्न सन्दीपले अमित मिश्रा र रविचन्द्रन आश्विनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ‘अघिल्लो सिजनभन्दा अहिले दिल्लीमा राम्रा स्पिनरहरू छन्, तर पनि मैले राम्रो गरेँ भने टिम पर्न समस्या छैन,’ सन्दीपले भने, ‘टिमको एउटा योजना हुन्छ र म त्यसैअनुरूप हिँड्नुपर्छ । कुन खेलाडी कति बेला खेल्छ भन्ने कुरा टिमको कन्डिसनमा भरपर्छ ।’

सन्दीपले यो आईपिएल आफ्ना लागि निकै महत्वपूर्ण भएको बताएका छन् । दिल्लीसँगको सम्झौत यसै सिजना सकिने भएकाले पनि आफ्ना लागि यो सिजन महत्वपूर्ण भएको उनले बताए । सन्दीपले भने, ‘आगामी सिजनको आईपीएलमा पर्न पनि यो आईपीएल मेरा लागि धेरै महत्वपूर्ण छ । यो सिजन राम्रो गर्न सकेँ भने मात्र अर्को वर्षको यथावत् रहन्छु । त्यसैले आफ्नो प्रदर्शन सुधार्न नै केन्द्रित हुने छु ।’

(सन्दीपसँग कान्तिपुरले गरेको कुराकानीमा अधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP