क्रिकेटराष्ट्रिय क्रिकेट

सन्दीपको मुद्दाको सुनुवाई आज पनि स्थगित

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो। अर्को सुनुवाईको मिति तोकिएको छैन।

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार न्यायाधीश अभावका कारण लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको हो।

गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको उनले बताए।

सरूवा, बढुवा र तीजको विदाका कारण लामिछानेविरूद्धको सुनुवाइ स्थगित भएको हो। २८ न्यायाधीश भएको काठमाडौं जिल्ला अदालतमा आज १६ जना न्यायाधीश मात्रै उपस्थित छन् भने ४० वटा मुद्दा स्थगित भएका छन्।