सन्दीपको टिम मेलबर्न स्टारको पाँचौं हार, सेमिफाइनल पुग्ने सम्भावना कम

अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पाँचौं हार बेहोरेको छ । बिग ब्यासका ८ मध्ये ५ खेलमा पराजित भएसँगै मेलबर्न स्टार्सको सेमिफाइनल पुग्ने सम्भवाना कमजोर बनेको छ ।

प्रतियोगिताका सुरुवातका दुई खेलमा पराजित भएको स्टार्स त्यसपछि लागतार तीन खेल जित्दै दोस्रो स्थानमा उक्लिँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो । तर, आफ्ना स्टार खेलाडीहरु कप्तान ग्लेन म्याक्सवेल, र सन्दीप लामिछाने, पिटर ह्यान्ड्सकम्ब, मार्कस स्टोइनिस, एडम जम्पाले टिम छाडेपछि मेलबर्न स्टार्स कमजोर बनेको हो ।

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग बीचमै छाड्दै बिपिएल खेल्न बंगलादेश आएका छन् भने म्याक्सवेल, ह्याड्सकम्ब, स्टोइनिस र जम्पा अस्ट्रेलियाको एकदिवसीय टिममा परेकाले बिग ब्यास छाडेका हुन् । अहिले उनीहरु भारतविरुद्धको एकदिवसीय खेलिरहेका छन् ।

बिग ब्यासका ५ खेल गुमाएको मेलबर्न स्टार्स अंक तालिकको पुछारमा छ । मेलबर्न स्टार्स प्रतियोगितामा होबर्ट हुरिकेन्ससँग २ पटक र सिड्नी थन्डर, पर्थ स्कोर्चर्स र एडिलेड स्ट्राइकर्ससँग १ पटक पराजित भएको छ । उसले सिड्नी सिक्सर्स, मेलबर्न रेनेगेड्स र सिड्नी थन्डरविरुद्ध भने जित हात पारेको थियो ।

लिगमा ७ खेल खेलेको होबर्ट हुरिकेन्स १२ अंकका साथ शीर्षस्थानमा छ भने समान ८ अंक जोडेका सिड्नी थन्डर, सिड्नी सिक्सर्स, एडिलेड स्ट्राइकर्स र मेलबर्न रेगेनेट्स क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं स्थानमा छन् । यस्तै समान ६ अंक जोडेका ब्रिसबेन हिट, पर्थ स्कोर्चर्स छैठौं र सातौं स्थानमा छन् ।

मेलबर्न स्टार्सले लिगका ६ खेल खेल्न बाँकी छ । अब मेलबर्नलाई सेमिफाइनल यात्रा तय गर्न सबै खेलमा जित निकाल्नु पर्ने छ ।

होबर्ट हुरिकेन्ससँग ५९ रनले पराजित

सोमबार भएको खेलमा मेलबर्न स्टार्स होबर्ट हुरिकेन्ससँग ५९ रनले पारजित भएको छ । टस जितेर मेलबर्नले फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको होबर्टले उत्कृष्ट ब्याटिङ गदैै २० ओभरमा २ विकेट मात्र गुमाउँदै १ सय ८५ रन बनायो ।
१ सय ८६ रनको विशाल लक्ष्य पछ्याएको मेलबर्नले १७.१ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सकेपछि ५९ रनले पराजित भयो ।

उसका लागि सेब गोचले सर्वाधिक ३५ रन बनाए भने बेन डंकले २० र ड्वायन ब्राभोले १९ रनको योगदान दिए । मेलबर्नलाई सस्तैमा समेट्ने क्रममा राइली मेरेडिथले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २१ रन मात्र खर्चिएर ४ विकेट लिए । यस्तै जोहान बोथा र जोफर आर्चरले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको होबर्टले डार्सी सर्टको ९६ रनको मद्दतमा २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८५ रनको विशाल योगफल तयार गरेको थियो । ५७ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कप्तान म्याथ्यु वेडले ४१ रन बनाए भने बेन म्याकडेर्मोटले २७ रनको योगदान दिए । मेलबर्नका लिआम बोई र टम ओकोनेलले १–१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *