पाकितानी कप्तान भन्छन्– भारतसँग यस्ता गल्ती गर्न सकिँदैन

इंग्ल्यान्ड र वेल्समा जारी १२औं संस्करणको विश्वकप क्रिकेटअन्तर्गत बुधाबार भएको खेलमा अस्ट्रेलियासँग ४१ रनले पराजित भएपछि पाकिस्तान क्रिकेट टिमका कप्तान सर्फराज अहमद आफ्नो खेलाडीसँग रुष्ट भएका छन् ।

खेलपछि सर्फराजले खराब फिल्डिङका कारण अस्ट्रेलियासँग पराजित हुनु परेको बताएका छन् । खेलमा पाकिस्तानी फिल्डरले स्लिपमा अस्ट्रेलियन कप्तान आरोन फिन्चको क्याच छोडेका थिए । त्यससमय फिन्च ३३ रन बनाएर खेलिरहेका थिए ।

सहज क्याच छुटाउँदा जीवनदान पाएका फिन्चले ८२ रन बानए । उनले पहिलो विकेटका लागि डेविड वार्नरसँग १४५ रनको साझेदारी गरेका थिए । सर्फराजले फिन्च र वार्नरको साझेदारी नै टिमको हारको मुख्य कारण भएको बताएका छन् ।

सर्फराजले आगामी खेलमा यस्ता गल्तीलाई माफ गर्न नसकिने बताए । विशेषगरी भारतविरुद्ध फिल्डिङमा हुने यस्ता गल्ती गर्न नहुने बताएका छन् । उनले बनेका छन्, ‘प्रतियोगितामा हाम्रो फिल्डिङ राम्रो भइरहेको छैन । भारत बलियो टिम हो, ऊ विरुद्ध पनि यस्तै गल्ती गर्ने हो भने जितको कुनै मौका मिल्दैन ।’

भारतविरुद्धको खेल अघि थप मेहनत गर्ने र गल्ती सुधार्ने प्रतिबद्धता समेत कप्तान सर्फराजले व्यक्त गरेका छन् । भारत–पाकिस्तानबीचको खेल १६ जुन अर्थात् आगामी आइतबार हुने छ ।

‘जब दुई बलिया टिम खेलिरहेका हुन्छन्, तब उत्कृष्ट फिल्डिङ रनमा अंकुश लगाउन सकिन्छ । तर, अस्ट्रेलियाविरुद्ध खराब फिल्ङिका कारण धेरै रन दियौं ,’ सर्फराजले भने ।

उनले राम्रो सुरुवात गरेर पनि मध्यक्रम सम्हालिन नसक्नु हारको अर्को कारण भएको बताए । उनले भने, ‘हामीले राम्रो सुरुवात गरेका थियौं, तर साझेदारी बनाउन सकेनौं । सुरुवतका केही विकेट सजिलै गुमायौं, त्यसपछि व्याट्सम्यान जमे । खेल हाम्रो पक्षमा हुँदा १५ बलमा ३ विकेट गुमाउन पुग्यौं, त्यो नै खेलका टर्निङ प्वाइन्ट बन्यो ।’

यसैगरी अस्ट्रेलियाव्रिुद्ध अर्धशतक बनाएका ओपनर इमाम उल हकले भारतविरुद्ध आफ्नो तर्फबाट शतप्रतिशत योगदान दिन आफू तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘सबैलाई थाहा छ, यस्तो म्याच खेल्न पाउनु ठूलो कुरा हो । भारत–पाकिस्तानबीचको खेल म्यानचेस्टरमा हुँदै छ, त्यहाँ धेरै पाकिस्तानी समर्थक छन्, त्यहाँ खेल्न म निकै उत्साहित छु ।’

भारतसँग खेल्दा सधैं दबाब हुने बताउँदै इमामले आफूहरु आफ्नो क्षमतालाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.