१६ वर्षमै टेस्टमा डेब्यु गर्दै नासिम
१६ वर्षीय पाकिस्तानी फास्टबलर नासिम साह अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्युको तयारीमा छन् । पाकिस्तानले अर्को सातादेखि अस्ट्रेलियाविरुद्धको टेस्टका लागि नासिमलाई टिममा राखेको छ ।
घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले नासिमलाई अस्ट्रेलियाविरुद्धको टेस्टका लागि टिममा बोलाएको हो । नसिमले घरेलु क्रिकेटमा यसवर्ष १६.६६ को औसतमा २७ विकेट लिएका छन् ।
गत महिना पाकिस्तानले अस्ट्रेलियाको ए टोलीसित खेल्दा नसिम प्रतिस्पर्धाको बीचबाटै घर फर्किएका थिए । आमाको निधनपछि नसिम पाकिस्तान फर्किएका हुन् । त्यसवेला उनले २१ रन खर्चिएर एक विकेट लिएका थिए । विस्बनमा अवसर पाए १६ वर्ष दुई सय ७९ दिन काटेका नसिम टेस्ट खेलमा डेब्यु गर्ने नवौँ कान्छो पाकिस्तानी खेलाडी बन्न सक्छन् । पाकिस्तानका लागि हसन राजाले कान्छो खेलाडीका रूपमा १४ वर्ष दुई सय २७ दिनमा टेस्टमा डेब्यु गरेका थिए ।

पाकिस्तानका कप्तान अजर अलीले कमै खेलाडीले मात्र कम उमेरमा डेब्यु अवसर पाउने बताएका छन् । ‘कमै खेलाडीले मात्र यस किसिमको सफलता चुम्न सक्छन्, नसिम त्यही खेलाडीमा परेका छन्,’ अलीले भने, ‘हामी सबैलाई आशा छ, उनले अस्ट्रेलियाविरुद्ध गतिलो प्रदर्शन गर्नेछन् ।’
उता अस्ट्रेलियाका कप्तान टिम पैनले पाकिस्तानका युवा खेलाडीको खेल हेर्न आफू उत्सुक भएको बताएका छन् । ‘अहिले पाकिस्तानले युवा फास्टबलर समावेश गरेको सुनेको छु, म उनको खेल हेर्न लालायित छु,’ उनले भने ।
पाकिस्तानले नसिमसँगै १९ वर्षीय दुई युवा खेलाडी साहिन अफ्रिदी र मुसा खानलाई समेत अस्ट्रेलियाको भ्रमणमा समावेश गरेको छ । सन् १९९५ पछि पाकिस्तानले अस्ट्रेलियाको भ्रमणमा जित निकाल्न सकेको छैन । टेस्टअघि भएको टी–२० खेलमा पाकिस्तान अस्ट्रेलियासँग ३–० ले पराजित भएको थियो ।