अफ्रिदी भन्छन्, इंग्ल्यान्डविरुद्धको टेस्ट ड्र हुनु पाकिस्तानका लागि जित बराबर

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीले इंग्ल्यान्डविरुद्धको आसन्न टेस्ट सिरिज बराबरीमा सकिनु पनि पाकिस्तानका लागि जित जस्तै हुने बताएका छन् । क्रिकेट पाकिस्तान डटकमसँगको कुराकानीका क्रमले अफ्रिदीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

एक महिनाअघि इंग्ल्यान्ड भ्रमणमा निस्किएको पाकिस्तानले घरेलु टोलीविरुद्ध टेस्ट र एकदिवसीय सिरिज खेल्ने कार्यक्रम छ । तीन खेलको टेस्ट सिरिजको पहिलो खेल म्यान्चेस्टरमा बुधबारबाट सुरु हुँदै छ ।

क्रिकेट पाकिस्तान डटकमसँगको अन्तर्वार्तामा अफ्रिदीले भने, ‘इंग्ल्यान्डमा खेल्न निकै गाह्रो हुन्छ, खासगरी टेस्ट क्रिकेट । मलाई पाकिस्तानी टिमप्रति विश्वास छ, यो सिरिज ड्रमात्रै भए पनि पाकिस्तानका लागि जित भन्दा कम हुने छैन ।’

अफ्रिदीले प्रशिक्षक मिसवाह उल हक, ब्याटिङ प्रशिक्षक युनिस खान र बलिङ प्रशिक्षक वाकर युनिस तथा स्पिन प्रशिक्षकसँग इंग्ल्यान्डमा खेलेको धेरै अनुभव भएकाले त्यसले पाकिस्तानी टिमलाई फाइदा पुग्ने बताए । ‘यस किसिमको उपलब्धता हुने हाम्रो टिमका लागि धेरै फाइदाजनक छ । मलाई विश्वास छ, पूर्वदिग्गज क्रिकेटर टिमसँगै रहँदा टिमलाई राम्रो मार्गदर्शन प्राप्त हुन्छ ।’

४० वर्षीय पूर्वक्रिकेटर अफ्रिदीले कप्तान बाबर आजमसँग केही उत्कृष्ट पारीको अपेक्षा गरेको बताएका छन् । ‘उनी निकै प्रतिभाशाली छन्, मलाई लाग्दैन कि उनीमाथि कप्तानको दबाब हुन्छ,’ आजमको प्रसंशा गर्दै अफ्रिदीले भने, ‘उनको खेलमा सुधार आइरहेको छ अनि चुनौति उनलाई मन पर्छ । आगमी दिनमा आजमले एकल प्रदर्शनमा पाकिस्तानलाई जिताउने छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *