राष्ट्रिय टिमबाट बाहिरिए शरद, भित्रिए सुवास

नेपाली राष्ट्रिय टिमका भरपर्दा मध्यमक्रमका ब्याट्सम्यान शरद भेषावकरले विश्वकप क्रिकेट लिग २अन्तर्गतको ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजका बाँकी खेल गुमाउने भएका छन् । शरदले बाँकी खेल गुमाउने भएसँगै विकेट किपर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

त्रिकोणात्मक सिरिजअन्तर्गत बुधबार भएको ओमानसँगको खेलमा ब्याटिङका क्रममा शरद घाइते भएका थिए । तर, उनले चोटका बाबजुद पुरै ब्याटिङ गरेका थिए । खेलकै क्रममा असहज भएपछि शरदले मैदानमै पटक पटक फिजियोको साहरा लिएका थिए ।

बिहीबार शरदको एमआरआई गरिएपछि उनले सिरिजका बाँकी खेल गुमाउने पक्का भएको हो । डाक्टरले शरदलाई कम्तिमा १० दिन आराम गर्न सल्लाह दिएका छन् । शरदले ओमानविरुद्ध उत्कृष्ट पारी खेलेका थिए । उनले कीर्तिमानी रुपमा ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए । घरेलु मैदानमा ओडिआईमा नेपाली ब्याट्सम्यानको यो पहिलो अर्धशकत हो ।

नेपालले सातौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहँदा शरदको यो दोस्रो खेलमात्र हो । सन् २०१८ को अगस्टमा नेदरल्यान्ड्सविरूद्ध खेलेर नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय टोलीमा प्रवेश गर्दाका सदस्य शरदले त्यसयताका खेल विभिन्न कारण गुमाएका थिए । पारिवारिक शोकमा रही केही दिन अघि मात्र टोलीमा सामेल भएका शरदको ओमानविरुद्धको इनिङ्स नेपाली ब्याट्सम्यानको एकदिवसीय अन्तर्राष्ट्रियमा छैटौं अर्धशतक हो ।

शरदको स्थानमा वैकल्पिक खेलाडीका रुपमा रहेका विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय टिममा स्थान बनाएका छन् । तर, नेपाल क्रिकेट संघको यो निर्णयले आईसीसीको स्विकृतिपछि मात्र औपचारिकता पाउने छ । शरद खेल्न नसक्ने अवस्था आएपछि टिम व्यवस्थापनले सुवासलाई टिममा ल्याउन भनेकाले सोही अनुसार उनलाई टिममा ल्याउन स्विकृतिका लागि आईसिसीमा भनिसकेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

सुवास खकुरेलले अमेरिकासँग सधैं राम्रो खेल्दै आएका छन् । नेपालले अमेरिकासँग विजय हात पारेको ५ खेलमा सुवासले ३ मा म्याच विजयी इनिङ खेलेका छन् । २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा सुवासले अमेरिकासँग मलेसियामा खेलेको १ सय १५ रनको इनिङ्स नेपाली खेलाडीको ५० ओभरको खेलमा अहिले पनि व्यक्तिगत उच्च स्कोर हो ।

त्यही प्रतियोगिताको फाइनलमा नेपालले अमेरिकामाथि ८ विकेटको विजय हात पार्दा सुवासले अविजित ४० रन बनाएका थिए । उनको यो फर्म २०१४ को डिभिजन ३ मा पनि जारी रहयो । सुवासको अविजित ४९ रनमा नेपालले अमेरिकामाथी डकवर्थ लुइस पद्धतिमा १० रनको विजय हात पारेको थियो ।

गत वर्ष मलेसियामा २०१८ को अगस्टमा भएको एसिया कप छनोट यता राष्ट्रिय टोलीमा नरहेका सुवासले मंगलबार मुलपानी क्रिकेट मैदानमा नेपाल ११ बाट खेल्दै अमेरिकासँगको अभ्यास खेलमा ८९ बलमा अविजित ५२ रन बनाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.