कोलकातालाई हराउँदै दिल्ली शीर्ष स्थानमा

कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति सारजाहमा भएको ‘हाइ स्कोरिङ’ खेलमा कोलकातालाई १८ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

४ खेलमा ३ जित निकालेको दिल्ली ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । ३ जित नै निकालेको रोयल च्यालेन्जर्स बैंग्लोर रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ।

सुरुवाती दुवै खेल जितेको दिल्ली तेस्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भएको थियो । दिल्लीले किंग्स इलावेन पञ्जावलाई सुपर ओभरमा र चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।

दिल्लीले दिएको २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता अन्तिम दुई ओभरमा राम्रो ब्याटिङ गर्न नसक्दा पराजित भयो । उसले २० ओभरमा ८ विकेट गुमाउँदै २१० रन बनायो।

उसका लागि नितिश रानाले सर्वाधिक ५८ रन बनाए भने इओन मोर्गनले ४४ रन बनाए । रानाले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गरे भने मोर्गनले १८ बलमा १ चौका र ५ छक्का प्रहार गरे। यस्तै, राहुल त्रिपाठीले १६ बलमा ३६ र सुभमन गिलले २२ बलमा २६ रन बनाए।

अन्तिम दुई ओभरमा ३१ चाहिएको अवस्थामा १९औं ओभरको तेस्रो बलमा मोर्गनको विकेट लिँदै एनरिच नोट्जेले दिल्ली जित तर्फ अग्रसर गराए । उनले ३ विकेट लिए भने मार्कस स्टोइनिसले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले कप्तान श्रेयस ऐयर र पृथ्वी शको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ४ विकेटको क्षतिमा २२८ रन बनायो । ऐयरले ३८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ८८ रन बनाए भने शले ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६६ रन बनाए।

यस्तै, ऋषव पन्तले १७ बलमा ३८, शिखर धवनले १६ बलमा २६ रन बनाए । ऐयरले दोस्रो विकेटका लागि शसँग ७३ र चौथो विकेटका लागि ऋषव पन्तसँग ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । पहिलो विकेटका लागि धवन र शले ५६ रनको साझेदारी गरेका थिए । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए।

सारजाहमा भएका आईपिएलका तीन खेलमा कुल १३०३ रन बनेका छन् । सारजाहमै राजस्थान रोयल्सले किंग्स इलावेन पञ्जावविरुद्ध २२४ रनको लक्ष्य चेज गरेको थियो । सारजाहमा खेलिकाएका तीनवटै खेलका दुवै इनिङमा २ सयभन्दा बढी रन बने छ।

आईपिएल अन्तर्गत आइतबार पनि दुई खेल हुने छ। सारजाहमा ३ः४५ मा हुने पहिलो खेलमा मुम्बई इन्डियसले सनराइजर्स हैदरावादको सामाना गर्ने छ भने साँझ ७ः४५बजे दुबईमा हुने दोस्रो खेलमा किंग्स इलावेन पञ्जाव र चेन्नई सुपर किंग्स भिड्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP