
सोमपाल भन्छन्– टि–१० लिगमा नयाँ अनुभव भयो
युएईमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता टि–१० लिग खेलिरहेका नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले नयाँ अनुभव हासिल गरेको बताएका छन् । डिफेन्डिङ च्याम्पियन मराठा अरबियन्समा आबद्ध सोमपालले ट्विट गर्दै टि–१० लिगमा आफूले नयाँ अनुवभ लिन पाएको बताएका छन् ।
सोमपाले लेखेका छन्, ‘मैले टिमसँग इन्जोय गरेँ र राम्रो अनुभव पनि लिएँ । यसले मलाई अझै राम्रो गर्न सहयोग गर्छ भन्ने लाग्छ ।’ उनले अरेबियन्स परिवारको सदस्य हुन पाएको आभार पनि व्यक्त गरेका छन् ।

सोमपालको टिम मराठा अरबियन्सले लिगमा १ खेल मात्र जित्यो, तालिकाको सातौं स्थानमा रह्यो । टिमले खराब प्रदर्शन गरेपछि सोपालले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले ६ खेलमा ३ विकेट लिए । उनले अन्तिम खेलमा डेक्कन ग्लाडिएटर्सविरुद्ध २ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए ।
यो पटक टि–१० लिगमा ४ नेपाली खेलाडी सहभागी थिए । जसमा सोममाल, करण केसी र कुशल मल्ल खेलाडीका रुपमा थिए भने पारस खड्का मेन्टरका रुपमा टि–१० लिगमा सहभागी थिए ।
करण टिम पुने डेभिल्सले पनि ६ मध्ये १ खेल मात्र जित्यो, र तालिकाको पुछारमा रह्यो । सबै ६ वटै खेलमा प्लेइङसेटमा रहेका करणले १ विकेट लिए । यता, युवा अलराउन्डर कुशल मल्लले भने अहिलेसम्म टिम अबुधाबीबाट डेब्यूमा मौका पाएका छैनन् । उनको टिम टिम अबुधाबी प्लेअफसम्म पुगेको थियो। अबुधाबीले तेस्रो स्थानका लागि ग्लाडियर्टससँग खेल्दै छ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का टिम अबुधका इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा छन् । अघिल्लो सिजन पारसले अबुधाबीबाटै खेलेका थिए ।