दक्षिण अफ्रिकाविरुद्ध वेस्टइन्डिजको खराब ब्याटिङ, एनगिडी र नोर्किया चम्किँदा वेस्टइन्डिज ९७ रनमै अलआउट

आजबाट सुरु भएको पहिलो टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध घरेलु टोली वेस्टइन्डिजले खराब ब्याटिङ गरेको छ। डारेन सामी इन्टरनेशनल क्रिकेट मैदान सेन्ट लुसियामा लुंगी एनगिडी र एनरिच नोर्कियाले घातक बलिङ गरेपछि पहिलो इनिङमा वेस्टइन्डिज ४०.५ ओभरमा ९७ रनमै अलआउट भयो।

वेस्टइन्डिजको इनिङ ध्वस्त बनाउने क्रममा एनगिडीले १३.५ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए भने नोर्कियाले ११ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । अर्को विकेट कागिसो रबाडाको नाममा रह्यो।

वेस्टइन्डिजका जासन होल्डरले सर्वाधिक २० रन बनाए भने कप्तान क्राइग ब्रेथवेट र साइ होपले समान १५ रनको योगदान दिए । यस्तै, रखिम कर्नवालले १३ र एनक्रुम बर्नरले १० रन बनाए भने अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

पहिलो दिन नै आफ्नो इनिङ सुरुवात गरेको दक्षिण अफ्रिकाले पनि राम्रो सुरुवात भने गर्न सकेन । दिनको खेल सकिँदा दक्षिण अफ्रिका १२८–४को अवस्थामा छ। उसका एइडन मक्रमले सर्वाधिक ६० रन बनाउँदा अर्का ओपनर तथा कप्तान ड्यानिअल इल्गर शुन्य रनमै आउट भए । किगन पटर्सनले १९ रन बनाउँदा रसिन भान डेर डुसान ३४ र क्वेन्टन डि कक ४ रनमा क्रिजमा छन्।

वेस्टइन्डिजका जयदिन सियल्सले ३ विकेट लिए भने केमर रोचले १ विकेट लिए।

वेस्टइन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले २ टेस्ट र ५ टि–२० म्याच खेल्ने छ।

Facebook Comments Box