टेस्ट सिरिजमा श्रीलंकाको क्लिन स्विप

दक्षिण अफ्रिका भ्रमणमा रहेको श्रीलंकाले घरेलु टोलीविरुद्ध दुई खेलको टेस्ट सिरिज क्लिन स्विप गरेको छ । शनिबार सम्पन्न दोस्रो टेस्टामा ८ विकेटको जित निकाल्दै टेस्ट सिरिजमा श्रीलंकाले क्लिन स्पिप गरेको हो । यसअघि भएको पहिलो टेस्टमा श्रीलंकाले १ विकेटको कीर्तिमानी जित निकालेको थियो ।

२ खेलको टेस्ट सिरिज जितेसँगै श्रीलंका दक्षिण अफ्रिकामा टेस्ट सिरिज जित्ने पहिलो एसियाली देश पनि बनेको छ । दक्षिण अफ्रिकामा यसअघि कुनै पनि एसियन देशले टेस्ट सिरिज जित्न सकेका थिएनन् ।

दोस्रो पारीमा १९७ रनको लक्ष्य पाएको श्रीलंकाले २ विकेटमात्र गुमाउँदै लक्ष्य भेट्टायो । उसका कुशल मेन्डिसले ८४ तथा ओशाडा फर्नाडोले ७५ रनको योगदान दिए ।

यसअघि घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो पारीमा २२२ रन मात्र बनाउन सक्यो । उसका लागि क्वेन्टर डे ककले सर्वाधिक ८६ रन बनाए भने एइडेन माक्र्रमले ६० रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा विश्व फार्नाडो र कासुन रजिथाले समान ३ विकेट लिए ।

यस्तै श्रीलंकाले पनि पहिलो इनिङमा १५४ रन मात्र बनाउन सकेको थियो । उसका निरोशन डिक्वेलाले सर्वाधिक ४२ तथा लहिरु थिरुमाने २९ बनाए भने कुशल परेराले २० रनको योगदान दिए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ४ तथा डुन्ने ओलिभियरले ३ विकेट लिए ।

दोस्रो इनिङमा दक्षिण अफ्रिकाले १२८ रन मात्र बनाउन सक्यो । उसका कप्तान फाफ डु प्लेसिसले ५० रन तथा हासिम अमलाले ३२ रन बनाउनुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा सुरंगा लकमलले ४ विकेट लिए भने धनन्जय डि सिल्भाले ३ तथा कसुल रजिथाले २ विकेट लिए ।

अब श्रीलंकाले दक्षिण अफ्रिकामा ५ एकदिवसीय र ३ टि–२० खेल खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *