
कुशल र आसिफ दुवै घाइते, खकुरेललाई टिममा बोलाइयो
अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अहिले दबाबमा परेको छ। अभ्यासका क्रममा आफ्ना दुवै ओपर घाइते भएपछि आईसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो सिरिज खेल्न अमेरिका पुगेको नेपाली टिम दबाबमा परेको हो।
नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेख घाइते भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका अनुसार आसिफ ह्यूस्टन हुरिकेन्सविरुद्धको खेलअघि अभ्यासका क्रममा घाइते भएको भएका थिए भने कुशल खेलमा फिल्डिङ क्रममा घाइते भएका थिए।
अभ्यासका क्रममा आसिफको घुँटामा चोट लागेको छ भने कुशलमा ह्यामस्ट्रिङको समस्या देखिएको छ। घुँडाको सिटी स्क्यान र एमआरआई गरिएको र त्यसको विस्तृत रिपोर्ट आएपछि मात्र उनले त्रिकोणात्मक सिरिज खेल्न सक्ने नसक्ने विषयमा थाहा हुने क्यानले जनाएको छ।
दुवै ओपनर घाइते भएपछि क्यानले अनुभवी ओपनर तथा विकेटकिपर सुवास खकुरेललाई टिममा बोलाएको छ। दुवै ओपनर सिरिजका लागि फिट हुनेमा द्विविधा रहेकाले खकुरेललाई अमेरिका बोलाउने क्यानले निर्णय गरेको हो।
काठमाडौंमा भएको अभ्यास खेल र क्लोज क्याममा खकुरेल अतिरिक्त सदस्यका रुपमा रहेको क्यानले जनाएको छ।
लिग–२ अन्तर्गतको अमेरिका र ओमानसँगको सिरिज जेठ २६ बाट सुरु हुँदैछ। नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिकासँग खेल्ने छ।