सुदूरपश्चिमको सान्त्वना जित, गण्डकी जितबिहीन

काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू मंगलबारबाट सकिएका छन् । मंगलबारको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेसँगै प्रतियोगिताको समूह चरणका खेल सकिएको हो ।

समूह चरणको अन्तिम खेल बाँकी छँदै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भइसकेको थियो । सेमिफाइनलमा समूह एबाट प्रदेश ३ र एपिएफ तथा समूह बीबाट नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले स्थान पक्का गरेका छन् ।

समूह एको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । यता गण्डकीले भने जितबिहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

मंगलबारको खेलमा पहिला ब्याटिङ गर्दै गण्डकीले दिएको ९० रनको झिनो लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । झिनो लक्ष्य पछ्याउँदा पनि सुदूरपश्चिमले राम्रो ब्याटिङ गर्न सकेन् । उसका लागि आकाश चन्दले सर्वाधिक २९ रन बनाए भने नरेन्द्र चन्दले २३ रन बनाए ।

गण्डकीका केशव महतोले सर्वाधिक ३ विकेट लिए । यस्तै विपिन खत्रीले २ तथा दीपेश श्रेष्ठले १ विकेट लिए । केशवले ८ ओभरमा १ मेडनसहित २३ रन खर्चिए ।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले खराब ब्याटिङ गर्दै २०.४ ओभरमा अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल शर्माले ४१ रन बनाए भने केशव महतोले १४ र अन्तिम थापाले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहारो अंकमा स्कोर बनाउन सकेनन् ।

गण्डकीको इनिङ ध्वस्त बनाउने क्रममा सुदूरपश्चिमका विनोद लामाले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै २५ रन खर्चिए । यस्तै, शेर मल्ल र महेश अधिकारीले २–२ विकेट लिए भने नरेन्द्र साउदले १ विकेट लिए ।

बुधबार हुने पहिलो सेमिफाइनलमा प्रदेश ३ र त्रिभुवन आर्मी क्लब भिड्ने छन् भने बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र एपिएफ क्लब भिड्ने छन् । दुवै खेल कीर्तिपुरस्थित टियू मैदानमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP