पिएम कपमा सुदूरपश्चिमकाे पहिलाे विजयी

काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ। समूह एअन्तर्गत बिहीबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ४७ रनको जित निकाल्यो।

टियू म‌ैदानमा १५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.१ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ र अर्जुन घर्तीले ३० रन जोडे । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए।

्त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १५३ रन ठूलो योगफल बनायो। उसका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए भने बसन्त कार्कीले २८, दिपक बोहराले २५ तथा खडक बोहराले २२ रन जोडे ।

कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिए भने रविन्द्र शाही र दिवान पुनले समान २ विकेट लिए ।

जितपछि २ खेलबाट समूह ए मा सुदूरपश्चिमले २ अंक जोडेको छ । तीन खेल खेल्दा दोस्रो हाल व्याहोरेको कर्णालीको पनि २ अंक छ । समूह ए अन्तर्गत नै मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीचको खेल मैदान भिजेका कारण रद्द भएपछि दुवै टिमले अंक बाँडे।

Facebook Comments Box