प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम फाइनल नजिक

काठमाडौंमा जारी यू–१९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। बुधबार भएको खेलको लयमा रहेको प्रदेश १ माथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ।

५ खेलमा तेस्रो जित निकालेसँगै सुदूरपश्चिम प्रदेश १ लाई नै रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । दुवैले समान ३ खेल जित्दै ६ अंक जोडेका छन्।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले दिएको ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । दूरपश्चिमको जितमा बसन्त कार्कीले सर्वाधिक ३७ रन बनाउँदा अर्जुन साउदले ३२ रन बनाए। २३ रनमै ४ विकेट गुमाएको अवस्थामा यी दुईले अविजित ७१ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। प्रदेश १ का अभिनय राजवंशीले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २४ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो । कप्तान अंकित सुवेदीले सर्वाधिक ६१ रन बनाएपनि अन्यले गतिलो योगदान नदिँदा प्रदेश १ सस्तैमा समेटियो । उसका ३ ब्याट्सम्यान शुन्य रनमा आउट हुँदा अंकित बाहेक कसैले पनि दोहोरो अंकमा स्कोर बनाउन सकनन्।

प्रदेश १लाई सस्तेमा समेट्ने क्रममा सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए भने नरेन्द्र साउदले ३ तथा कैलाश ऐरीले २ विकेट लिए।

अन्तिम खेलमा सुदूरपश्चिमले बागमति र प्रदेश १ ले गण्डकी प्रदेशसँग खेल्नेछ। यो खेलमा जसले ठूलो अन्तरको जित निकाल्ने छ त्यही टिम फाइनल पुग्नेछ।

Facebook Comments Box