हैदरावादलाई हराउँदै मुम्बई शीर्ष स्थान

युएईमा जारी आईपिएलमा सनराइसर्ज हैदरावादलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार साँझ सारजाहमा भएको खेलमा मुम्बईले हैदरावादलाई ३४ रनले हरायो ।

५ खेलमा ३ जित निकाल्दै मुम्बई ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि ६ अंक नै भएपनि रनरेटमा मुम्बई अगाडि छ ।

कोलकाता नाइट राइडर्सलाई ४९ रनले, किंग्स इलावेन पञ्जावलाई ४८ रनले पराजित गरेको मुम्बई चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो भने बैंग्लोरसँग सुपर ओभरमा पराजित भएको थियो ।

पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७४ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान डेविड वार्नरले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दए ६० रन बनाए भने मनिष पाण्डेले ३० र जोनी बेइस्टोले २५ रनको योगदान दिए ।

मुम्बईका ट्रेन्ट बोल्ड, जेम्स प्याटिन्सन र जस्प्रित बुमराहले समान २ विकेट लिए भने कुर्णाल पाण्ड्याले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनायो । मुम्बईका लागि क्वेन्टन डि ककले सर्वाधिक ६७ रन बनाए । उनले ३९ रनमा समान ४ चौका र छक्का प्रहार गरे ।

यस्तै, इसान किसानले २३ बलमा ३१, हार्दिक पाण्ड्याले १९ बलमा २८, केइरन पोलार्डले १३ बलमा २५ र कुर्णालले ४ बलमा २० रन बनाए । हैदरावादका सन्दीप शर्मा र सिद्धार्थ कौलले समान २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP