
टि–२० विश्वकप तालिका : गत वर्षका फाइनलिस्ट पहिलो खेलमै भिड्ने
अक्टोबरदेखि सुरु हुने टी२० विश्वकपको साविकको विजेता अस्ट्रेलियाले पहिलो खेलमा साविक उपविजेता न्यूजिल्यान्डको सामना गर्ने भएको छ।
शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको प्रतियोगिताको तालिकाअनुसार २२ नोभेम्बरमा यी दुई भिड्ने भएका हुन्।
यस्तै, प्रतियोगिताको उद्घाटन खेलमा भने १६ अक्टोबरमा नामिबियाले श्रीलंकाको सामना गर्नेछ। यो खेल अष्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ। २३ अक्टोबरमा भने भारत र पाकिस्तानबीचको महाभिड्न्त हुनेछ।
प्रतियोगिताको पहिलो सेमिफाइनल ९ नोभेम्बरमा सिड्नीमा हुने तय भएको छ। १० नोभेम्बरमा एडेलेडमा दोस्रो सेमिफाइनल हुने आईसीसीले जनाएको छ।
सुपर १२ को ग्रुप ‘१’ मा अस्ट्रेलियासँगै न्यूजिल्यान्ड, इङ्ल्यान्ड र अफगानिस्तान छन्। समूहमा पहिलो चरण पार गरेका समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताले स्थान बनाउनेछन्।
पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका र नामिबियासँगै ग्लोबल क्वालिफायरबाट छनोट भएका दुई टोली रहनेछन्। त्यस्तै, समूह ‘बी’ मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनोट भएका दुई टोलीबीच हुनेछन्।
त्यस्तै ग्रुप ‘२’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन्।