
टि–२० विश्वकप छनोटमा नेपाल समूह एमा, आयरल्यानड र ओमानसँग खेल्नु पर्ने
सन् २०२२ मा अस्ट्रेलियामा हुने टि–२० विश्वकपको ग्लोबल छनोटमा नेपाल समूह एमा परेको छ। १६ टिम सहभागी ग्लोबल छनोटमा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँगै समूह एमा परेको छ ।
नेपालको समूहमा आयरल्यान्डसँगै यसैवर्ष टि–२० विश्वकप खेलेको ओमानसँगै बलियो युईए र क्यानडा पनि छ । यस्तै, बहराइन, जर्मनी र फिलिपिन्स पनि यही समूहमा छ।
समूहको छनोट खेल १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।
यस्तै, समूह बीचमा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका छन्। यो समूहको खेल भने आगामी जुलाई ८ देखि १८ सम्म जिम्बावेको हारारे स्पोर्ट्स क्लबमा हुनेछ।
१६ टिमबीच प्रतिस्पर्धा हुने टि–२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन्। जसमा आयोजक अस्ट्रेलियासँगै अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिज छन्।