भारत र न्युजिल्यान्डको अपराजित रहने दाउ

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना भइरहको १२औँ विश्वकप क्रिकेटमा बिहीबार दुई बलियो टिम भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल बिहीबार दिउँसो ३ः१५ बजे नटिङघममा हुने छ ।

प्रतियोगितामा अपराजित रहेका दुवै टिम बिहीबारको खेल जित्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छन् । प्रतियोगितामा भारतले २ र न्युजिल्यान्डले ३ खेल जितेका छन् ।

भारतले दक्षिण अफ्रिका ६ विकेटले र अस्ट्रेलियालाई ३६ रनले हराएको थियो । यता न्युजिल्यान्डले भने श्रीलंकालाई १० विकेटले, बंगलादेशलाई २ विकेटले र अफगानिस्तान ७ विकेटले पराजित गरेको थियो ।

दुवै टिम उत्कृष्ट फर्मका रहेकाले बिहीबार हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । फर्ममा रहेका ओपनर शिखर धवन घाइते भएकाले भारतलाई केही टाउको दुखाइ हुन सक्छ ।

समग्रमा भारत र न्युजिल्यान्ड एकदिवसीय क्रिकेटमा १०६ पटक भिडेका छन् । जसमा भारत बलियो देखिएको छ । उसले ५५ खेल जितेको छ भने न्युजिल्यान्डले ४५ खेल जितेको छ। यी दुई बीचको १ खेल बराबरीमा सकियो छ भने ५ खेल अनिर्णित बनेको थियो ।

यता विश्वकपमा भने यी दुई देश ७ पटक भिडेका छन् । विश्वकपमा भने न्युजिल्यान्ड बलियो देखिएको छ । ७मध्ये ४ खेल न्युजिल्यान्डले जितेको छ भने ३ खेल भारतले जितेको छ ।

भारतीय ब्याट्सम्यान राम्रो फर्ममा छन् । न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट भारतका लागि सर्वाधिक खतरनाक बन्न सक्नेछन् । इंग्ल्यान्डमा विश्वकपअघि भारतले खेलेका मैत्रीपूर्ण खेलमा बोल्ट निकै राम्रो लयमा देखिएका थिए ।

यता, न्युजिल्यान्डका लागि जसप्रित बुमराह र युजभेन्द्र चहनल खतरनाक बन्न सक्छन । दुवै प्रतियोगितामा उत्कृष्ट लयमा छन् । यस्तै ब्याटिङमा भारतका रोहित शर्मा, कप्तान विराट कोहली, महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्या चल्न सक्छन् ।

भारत र न्युजिल्यान्डबीचको खेल ट्रेन्ट ब्रिजमा हुँदै छ । तीन दिनदेखि यहाँ लगातार वर्षा भइरहेको छ । बिहीबार पनि वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । त्यसैले मैदानको अवस्था हेरेर भारतले एक अतिरिक्त तीव्र गतिका बलरलाई टिममा मौका दिने सम्भावना छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.