मुम्बई छैठौं पटक आईपिएलको फाइनलमा, दिल्ली ५७ रनले पराजित

डिफेडिङ च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई छैठौं पटक फाइनलमा पुगेको हो ।

सर्वाधिक ४ पटकको विजेता मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो। यसअघि सन् २०१० मा पहिलो पटक फाइलन पुगेको मुम्बई चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

मुम्बईसँग पराजित भएको दिल्लीले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ । उसले आज हुने सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको एलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ ।

पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । २०१ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निकै खराब सुरुवात गरेको थियो । उसले सुरुवाती तीन विकेट शुन्य रनमै गुमायो । लगातार विकेट गुमाएको दिल्लीका लागि मार्कस स्टोइनिस र अक्षर पटेलले छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।

स्टोइनिसले सर्वाधिक ६५ रन बनाए भने पटेलले ४२ रन बनाए । स्टोइनिसले ४६ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे भने पटेलले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै, कागिसो रबाडाले १५ र कप्तान श्रेयस ऐयरले १२ रन बनाए । उसका ४ ब्याट्सम्यान डकआउट भएका थिए ।

दिल्ली सस्तैमा रोक्ने क्रममा जस्प्रित बुमराहले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । यस्तै, ट्रेन्ट बोल्टले २ र किरेन पोलार्ड र कुर्नाल पाण्ड्याले समान १ विकेट लिए । औंलामा चोट लागेपछि बोल्टले २ ओभरमात्र बलिङ गरेका थिए।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादव र इशन किसनको अर्धशतक तथा हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङ मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । किसनले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए भने यादवले ३८ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए ।

यस्तै, क्वेटन डि ककले २५ बलमा ५ चौका र १ छक्का सहित ४० रन बनाए भने अन्त्यमा हार्दिक पाण्ड्याले १४ बलमा ५ छक्का प्रहार गर्दै ३७ रन बनाए । दिल्लीका रविचन्द्रन आविश्वनले ३ तथा एनरिच नोर्किया र स्टोइनिसले समान १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.