आईसीसी विश्वकप लिग–२ : अमेरिकाविरुद्ध सचेत रहँदै जितको खोजीमा नेपाल

एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको आईसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताको दोस्र्रो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज अमेरिकाको सामाना गर्र्दैछ। खेल ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। खेल डे–नाइट हुने छ।

ओमान, नेपाल र अमेरिका सम्मिलित सिरिजको पहिलो खेल अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाली टिमको लक्ष्य जित नै हुनेछ । सन् २०२०मा नेपालमै भएको नेपाल, ओमान र अमेरिकाबीचकै पहिलो सिरिजका दुवै खेलमा नेपालले अमेरिकालाई पराजित गरेपनि नेपाल अमेरिकासँग सचेत भने हुने छ।

किनभने अमेरिकाले विश्वकप लिग–२मा उत्कृष्ट प्रदर्शन गरेको टिम हो, र उ अंकतालिमा दोस्रो स्थानमा छ। नेपालले घरेलु मैदानमा अमेरिकालाई ८ विकेट र ३५ रनले पराजित गरेको थियो।

त्रिकोणात्मक सिरिजको तयारी स्वरुप नेपाल र अमेरिका दुवैले ओमानमा पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेका थिए । दुवै टिमले पपुवा न्युगिनीविरुद्ध सिरिज क्लिनस्विप गरेका थिए।

डेढ वर्षअघिको नेपाली टिम र अहिलेको नेपाली टिममा केही परिवर्तन छ । नेपाली टिममा भरपर्दा खेलाडी पारस खड्का र दीपेन्द्र सिंह ऐरी हुने छैन भने नेपाली टिमले कुशल भुर्तेल र आसिफ सेखका रुपमा नयाँ ओपनर पनि पाएको छ।

पारस खड्काले राष्ट्रिय टिमबाट सन्न्यास लिइसकेका छन् भने उपकप्तान तथा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी भने चोटका कारण खेल्ने छैनन् । एंकलको चोटका कारण उनले सिरिज नै गुमाउने पक्का भइसकेको छ ।

लिगमा ४ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ। १० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा रहँदा १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ, रोहित कुमार

Facebook Comments Box