रोहित र कोहलीको कीर्तिमानी इनिङ, भारतले जित्यो अस्ट्रेलियाविरुद्धको सिरिज

कप्तान विराटन कोहली र ओपनर रोहित शर्माले कीर्तिमानी इनिङ खेलेपछि अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज भारतले जितेको छ । रोहितले शतक र कोहलीले अर्धशतक बनाएपछि बैंग्लोरमा भएको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियालाई ७ विकेटको जित निकाल्दै भारतले सिरिज २–१ले जित्यो ।

पहिलो खेल १० विकेटले गुमाएको भारतले त्यसपछिका दुई खेल लागारतार जित्दै सिरिज आफ्नो पक्षमा पा¥यो । राजकोटमा भएको दोस्रो एकदिवसीय भारतले ३६ रनले जितेको थियो ।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो भारतलाई सहज जित दिलाउने क्रममा रोहित शर्माले ११९ रनको इनिङ खेले । उनले १२८ बल खेल्दै ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान विराट कोहलीले ८९ रन बनाए भने श्रेयस ऐयरले ४४ रन बनाए । कोहलीले ९१ बल खेल्दै ८ चौका प्रहार गरे भने ऐयरले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

भारतको जितमा तीन उत्कृष्ट साझेदारी भए । कोहली र रोहितले दोस्रो विकेटका लागि १४५ बलमा १३७ रनको साझेदारी गरे । फिल्डिङका क्रममा काँधमा चोट लागेपछि ओपनिङमा आएका केएल राहुलले रोहितसँग पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै भारतलाई सुखद् सुरुवात दिलाए । यस्तै कप्तान कोहलीले तेस्रो विकेटका लागि ऐयरसँग ६८ रनको साझेदारी गरे । अस्ट्रेलियाका जोस हेजलउड, एस्टन अगर र एजड जम्पाले समान १ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले स्टेभन स्मिथले शतक बनाएपछि ५० ओभरमा ९ विकेट गुमाउँदै २८६ रन बनायो । स्मिथले १३२ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै १३१ रन बनाए । यस्तै मार्नस लाबुसेनले ५४ रन बनाउँदा एलेक्स क्यारीले ३५ रन बनाए ।

भारतका मोहम्मद सामीले ४ विकेट लिए । उनले १० ओभरमा ६३ रन खर्चिए । यस्तै, रविन्द्र जडेजा २ तथा नवदीप सैनी र कुलदीप यादवले समान १ विकेट लिए ।

रोहितले तोडे सचिन र गांगुलीको रोकर्ड

अस्ट्रेलियाविरुद्ध शतकीय इनिङ खेल्दै विस्फोटक ब्याट्सम्यान रोहित शर्मा मास्टर ब्लास्टर सचित तेन्दुलकर र सौरभ गांगुलीको रोकर्ड तोडे । सचिन र गांगुलीको रेकर्ड तोड्दै रोहित ओडिआईमा सर्वाधिक छिटो ९ हजार रन पुरा गर्ने तेस्रो खेलाडी बने । रोहितले २१७ इनिङमा ९ हजार रन पुरा गरेका छन् ।

९ हजार रन पुरा गर्न सचिनले २३५ र गांगुलीले २२८ इनिङ खेलेका छन् । यो सूचीमा भारतीय कप्तान विराटन कोहली शीर्षस्थानमा छन् । उनले १९४ इनिङमा ९ हजार रन पुरा गरेका थिए । २०५ इनिङमा ९ हजार रन पुरा गरेका दक्षिण अफ्रिकाका एबी डे भिलियर्स दोस्रो स्थानमा छन् ।

कोहली बने छिटो ५ हजार रन बनाउने कप्तान

अस्ट्रेलियामा बैंग्लोरमा ८९ रनको इनिङ खेलेका विराट कोहली ओडिआईमा सर्वाधिक छिटो ५ हजार रन बनाउने कप्तान बनेका छन् । मिचेल स्टार्कको बलमा चौका प्रहार गर्दै कोहलीले रेकर्ड आफ्नो नाममा लेखाए । यसक्रममा कोहलीले पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडे । कोहलीले ८२ इनिङमा कप्तानका रुपमा ५ हजार रन पुरा गरे । धोनीले १२७ इनिङमा ५ हजार रन पुरा गरेका थिए ।

यसैगरी अस्ट्रेलियाविरुद्धको अर्धशतकीय इनिङसँगै कोहली १ सय खेलमा ५० भन्दा बढी रन बनाउने दोस्रो भारतीय खेलाडी पनि बने । यसक्रममा कोहलीले ४३ शतक र ५७ अर्धशतक बनाएका छन् । सचिनले १४५ पटक ५० भन्दा बढी रन बनाएका छन् । यो सूचीमा उनी शीर्ष स्थानमा छन् । सचिनले ४९ शतक र ९६ अर्धशतक बनाएका छन् ।

श्रीलंकाका कुमारा संगाकाराले ११८ पटक १ सयभन्दा बढी रन बनाउँदा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले ११२ र दक्षिण अफ्रिकाका पूर्वकप्तान ज्याक कालिस १०३ पटक १ सय भन्दा बढी रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *