युएईका विकेटकिपर गुलाम साबेर आइसिसीद्वारा चार वर्ष प्रतिबन्धित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले युएईका विकेटकिपर–ब्याट्सम्यान गुलाम साबेरलाई चार वर्षको प्रतिबन्ध लगाएको छ। उनले ६ पटकसम्म आईसिसीको भ्रष्टाचार–विरुद्धको आचार संहिताको अपहेलना गरेको पाइएपछि आईसिसीले यति लामो प्रतिबन्ध लगाएको हो।

साबेरविरुद्ध लागेका आरोपहरु यस्ता छन्ः

१) २०१९ को जनवरी-फेब्रुअरीमा नेपालविरुद्धको सिरिजमा फिक्सिङको नियतले उनलाई गरिएको प्रस्तावको जानकारी नदिएको

२) २०१९ को अप्रिलमा जिम्बाब्वेविरुद्धको सिरिजमा फिक्सिङको नियतले उनलाई गरिएको प्रस्तावको जानकारी नदिएको

३) जिम्बाब्वेविरुद्धको सोही सिरिजमा टिमकै अर्का साथीलाई गरिएको फिक्सिङको प्रस्तावका बारेमा नखुलाएको

४) अन्य व्यक्तिले फिक्सिङ वा भ्रष्टाचार गरेको साबित हुनसक्ने विभिन्न घटना वा पूर्ण तथ्यको जानकारी नदिएको र नखुलाएको

५) एन्टीकरप्सन युनिट (एसीयू) को अनुसन्धानमा पूर्णरुपमा सहकार्य गर्न असफल भएको/असहयोग गरेको

६) एसियूको अनुसन्धानका क्रममा सान्दर्भिक हुनसक्ने जानकारीहरु लुकाएको र आफुले प्रयोग गरेका सबै मोबाइल उपकरणहरु उपलब्ध गर्न नमानेर अनुसन्धानमा असहयोग गरेको

३५ वर्षिय साबेरले २०१६ देखि २०१९ सम्म युएईका लागि २३ एकदिवसीय र १७ टि२०आई खेलेका थिए। अक्टोबर २०१९ मा युएईमै भएको हङकङविरुद्धको टि२० विश्वकप छनोट खेलका क्रममा टिम मिटिङबाटै ‘फरार‘ भएपछि उनी अनुसन्धानको दायरामा आएका थिए।

टिम मिटिङबाट ‘फरार’ भएका साबेर युएई नै छाडेर भागेका थिए। त्यसलगत्तै युएईको इमिरेट्स क्रिकेट बोर्डले ‘पाकिस्तान घटनाका बारेमा गरिएको विस्तृत अनुसन्धानका कारण’ भन्दै उनीमाथि प्रतिबन्ध लगाएको थियो।

युएईबाट उनी हराएकै समयतिर आईसिसीले युएईका खेलाडी मोहम्मद नाभीद, कादीर अहमद र सइमन अनवरलाई पनि विभिन्न अवसरमा भ्रष्टाचारविरुद्धको आचारसंहिताको पालना नगरेको भन्दै केही समयलाई प्रतिबन्ध लगाएको थियो। पछि आईसिसीले कादीरलाई पाँच वर्ष प्रतिबन्ध लगाएको थियो भने नाभीद र अनवरलाई आठ वर्ष प्रतिबन्ध लगाएको थियो।

बारम्बर सम्झाउँदा पनि साबेरले एक अन्तर्राष्ट्रिय खेलाडीका रुपमा आफ्नो दायित्वबोध गर्न नसकेपछि प्रतिबन्ध लगाइएको आईसिसीको इन्टेग्रिटी युनिटका महाप्रबन्धक एलेक्स मार्सलले बताएका छन्। ‘साबेर भ्रष्टाचार विरुद्धका तीनवटा अधिवेशनमा सहभागी भएका थिए। त्यहाँ कसैले फिक्सिङ वा क्रिकेटको खेलभावना विपरित प्रस्ताव राखेको खण्डमा खेलाडीका रुपमा उनीहरुको नैतिक दायित्व र जिम्मेवारी के हो भनेर सिकाइएको थियो। तर, उनी एक अन्तर्राष्ट्रिय खेलाडी हुनुको जिम्मेवारी पूरा गर्न सधैं असफल भए। त्यसैले उनलाई प्रतिबन्ध गरेका हौं,’ मार्सलले बताएका छन्।

मार्सलका अनुसार साबेरले त्यस्ता घटनामा मुछिएकोमा दुःखमनाउ र पश्चाताप गरेपनि जानकारी दिन असफल भएका कारण प्रतिबन्ध गरिएको पनि बताएका छन्। साबेरलाई गरिएको कारबाहीबाट अरु खेलाडीले पनि पाठ सिक्नुपर्ने बताउँदै क्रिकेटमा फिक्सिङ र अन्य भ्रष्टाचारका प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न भएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने पनि आईसिसीले जनाएको छ।

Facebook Comments Box