राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पटवालले दिए राजीनामा

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजिनामा दिएका छन् । माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुन लगेको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आमोन र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिज सकिएसँगै लागू हुने गरी पटवालले राजिनामा दिएका हुन् ।

पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीसँग असन्तुष्ट रहेका पटवालले त्रिकोणात्मक सिरिज सकिएपछि लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)लाई राजिनामा बुझाएको क्यान स्रोतले जानकारी दिएको छ । पटवालले आईसिसीलाई बुझाएको राजिनामाको बोधार्थ क्यानलाई समेत बुझाएको बताइएको छ ।

क्यान निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्को पहलमा आईसिसीलेसन् २०१९ जुनमा एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका नियुक्त गरेको थियो । नेपाली टिमको कन्सल्ट्यान्ट ब्याटिङक प्रशिक्षक रहेका पटवाललाई मासिक ७ सय डलर पाउने गरी मुख्य प्रशिक्षक बनाइएको थियो ।

तलबमा कर लगाइएपछि पटवाल पछिल्लो सयम असन्तुष्ट रहेका थिए । तलबमा कर कट्टा गरिएपछि पटवालले तलब बुझ्न अस्वीकार गरेको क्यान स्रोतले जानकारी दिएको छ ।

पटवालले गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा पहिलोपल्ट नेपाली टिमको ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवारी सम्हालेका थिए । गत माघमा युएईविरुद्धको एकदिवसीय र ट्वान्टी–२० शृंखला नेपालले जित्दा पनि पटवाल नै ब्याटिङ कन्सल्ट्यान्टमा थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.