भारतमाथि न्युजिल्यान्डको सानदार जित, ८ विकेटले हराउँदै जित्यो टेस्ट च्याम्पियनसिप

पहिलो पटक आयोजना भएको आईसिसी टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले जितेको छ । इंग्ल्यान्डको साउथह्याम्पटनमा बुधबार सम्पन्न फाइलनमा भारतमाथि ८ विकेटको सानदार जित निकाल्दै न्युजिल्यान्ड च्याम्पियन बनेको हो।

भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले ४५.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टयो। उसलाई जित दिलाउन कप्तान केन विलयम्सन, डेभन कन्वे र रोस टेलरले ब्याटिङ तथा कायल जेमिन्सन, टिम साउदी र ट्रेन्ट बोल्डले बलिङमा उत्कृष्ट प्रदर्शन गरे।

अन्तिम दिन कप्तान विलियम्सनले ५२ रन बनाउँदा रोस टेलरले ४७ रन बनाए । यी दुईले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । भारतका रविचन्द्रन आश्विनले २ विकेट लिए ।

यसअघि भारतले दोस्रो इनिङमा १७० रनमै अलआउट भएपछि न्युजिल्यान्डले सहज लक्ष्य पाएको थियो। भारतका लागि ऋषव पन्तले सर्वाधिक ४१ रन बनाउँदा रोहित शर्माले ३० र रविन्द्र जडेजाले १६ तथा चेतेश्वर पुजारा र अजिन्का रहाणेले समान १५ रन बनाए । भारतलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यानडका टिम साउदीले ४, ट्रेन्ट बोल्डले ३ र कायल जेमिन्सनले २ विकेट लिए ।

यसअघि भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो । उसका अजिन्का रहाणेले ४९ र कप्तान विराट काहलीले ४४ रन बनाए। न्युजिल्यान्डका जेमिन्सनले ५ तथा बोल्ड र नेइल बाग्नरले समान २ विकेट लिए।

न्युजिल्यान्डले भने पहिलो इनिङमा २४९ रन बनाएका थियो । उसका लागि कन्वेले १५३ बल खेल्दै सर्वाधिक ५४ रन बनाउँदा कप्तान विलियम्सनले १७७ बल खेल्दै ४९ रन बनाए। भारतका मोहम्मद सामीले ४, इशान्त शर्माले ३ र आश्विनले २ विकेट लिए।

कुल ७ विकेट लिएका न्युजिल्यान्डको जेमिन्सन प्लेयर अफ दी म्याच बने ।

उपाधिसँगै न्युजिल्यान्डले १६ लाख अमेरिकी डलर प्राप्त गर्यो भने भारतले ८ लाख रुपैयाँमा चित्त बुझायो।

यो जितले बिजे वाटलिङको बिधाई भने सुखद् भयो । विकेट किपर ब्याट्सम्यान वाटलिङ यसअघि नै टेस्ट चम्पियनसिप फाइनलपछि सन्न्यास लिने घोषणा गरेका थिए।

Facebook Comments Box