श्रीलंकन राष्ट्रिय क्रिकेटर उपुल थरंगा नेपालमा क्रिकेट खेल्ने

एभरेस्ट प्रिमियर लिग (इपिएल)ले अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याति कमाएका क्रिकेटरलाई नेपाल ल्याउने क्रममा श्रीलंकाका राष्ट्रिय खेलाडी उपुल थरंगालाई पनि ल्याएको छ । थरंगा देब्रो हाते ब्याट्सम्यान हुन् ।

थरंगालाई डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले भित्र्याएको हो । यसअघि भैरहवा ग्लाडियटर्सले वेस्टइन्डिजका ड्वायन स्मिथलाई ल्याएको थियो । इपिएलले विदेशी खेलाडीका लागि नयाँ नियम बनाएपछि क्रिकेटका ठूला स्टार नेपाल आउन लागेका हुन् ।

इपिएलले यस पटकबाट नेपालमा हुने अन्य फ्रेन्चाइज लिग खेलेका विदेशी खेलाडी इपिएल खेल्न नपाउने नियम बनाएको थियो । इपिएलमा तीन विदेशी खेलाडी अनिवार्य गरिएको छ । इपिएल कीर्तिपुरस्थित टियू मैदानमा चैत पहिलो साताबाट सुरु हुने छ ।

थरंगा र स्मिथसँगै दक्षिण अफ्रिकाका पूर्वकप्तान हासिम अमला, इंग्लायन्डका लइम प्लुङकेट, वेस्टइन्डिजका केसरिक विलियम्स, श्रीलंकाकै सुकुगे प्रसन्न र अफगानिस्तानका मोहम्मद शहजाद पनि आउने चर्चा छ ।

ललितपुर प्याट्रिओट्सले एक विज्ञप्ति जारी गर्दै श्रीलंकका टि–२० र एकदिवसीय टिमका पूर्वकप्तान थरंगा क्लबमा आबद्ध भएको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा परिचित थरंगालाई इपिएलमा ललितपुरको ल्याउन पाउँदा आफूहरु उत्साहित भएको ललितपुरका मालिक किशोर महर्जनले बताएका छन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी र श्रीलंकाका लिजेन्ड क्रिकेटर थरंगाको आगमनले क्लब थप बलियो भएको छ’ किशोरले भने, ‘उनको आगमनले क्लबका युवा खेलाडीमा उर्ज थप्ने र उपाधि रक्षाको अभियानमा थरंगाका अनुभव उपयोगी हुने विश्वास छ ।’

यसैगरी थरंगाले पनि नेपाल क्रिकेट खेल्न आफू आतुर रहेको बताएका छन् । उनले इपिएलमा ललितपुरको सदस्य हुन पाउँदा गौरवान्वित भएको बताए । ललितपुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय नेपालमा क्रिकेट संस्कृतिको विकास भइरहेको छ, यसमा म रमाउन चाहन्छु ।’

यस्तो छ थरंगाको अन्तर्राष्ट्रिय करिअर

सन् २००५ मा वेस्टइन्डिजविरुद्ध खेल्दै थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । त्यसयता उनले श्रीलंकाका लागि २३५ एकदिवसीय, २६ टि–२० र ३१ टेस्ट खेलेका छन् । उनले २३५ एकदिवसीयमा १५ शतकीय तथा ३७ अर्धशतक मद्दतमा ६९५१ रन बनाएका छन् भने टि–२० मा ४०७ रन बनाएका छन् । यस्तै टेस्टमा उनले १७५४ रन बनाएका छन् ।

श्रीलंकाबाट उनले अन्तिमपटक दक्षिण अफ्रिकाविरुद्ध २०१९ मा एकदिवसीय खेल खेलेका थिए । बायाँहाते ब्याट्सम्यान थरंगाले पहिलो क्लासमा २३ तथा लिस्ट एमा २८ शतक बनाएका छन् । थरंगाले २१ एकदिवसीय र ६ टी–२० खेलमा श्रीलंकन टिको कप्तानी पनि गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.