
क्यानका खेलाडी छनोट समितिका संयोजक दिए राजीनामा
नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिका संयोजक उत्तम कर्माचार्यले राजीनामा दिएका छन्। कर्माचार्यले घरायसी कारण देखाउँदै छनोट समितिको संयोजकबाट राजीनामा दिएका हुन्।
उनले क्रिकेटमा उत्पन्न विवादको विषयलाई लिएर आफूले राजिनामा नदिएको स्पष्ट पारेका छन्। उनले क्यानको साधारणसभामा भाग लिनुपर्ने भएकाले छनोट समितिबाट राजिनामा दिएको बताएका छन् ।
क्यानको साधारणसभा पुस १४ गते हुँदैछ । सो साधारणसभाले रिक्त रहेको सविच र उपाध्यक्ष चयन गर्नेछ। कर्मार्चायले साधारणसभामा सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन्।
क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाएर सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गरेको केही दिनपछि उनले राजीनामा दिएका हुन् ।
आफू खेलाडी छनोट समितिको संयोजक भएकाले खेलाडीका बारेमा निर्णय गर्दा आफूसँग परामर्श गर्नुपर्ने कर्माचार्यले बताउँदै आएका छन्। उनले कप्तान नियुक्त गर्नु बोर्ड बैठककै अधिकार भए पनि प्रक्रिया नमिलेको बताएका छन्।