बैंग्लोर ९२ रनमै अलआउट, कोलकाता ९ विकेटले विजयी

कोरोना महामारीले रोकिएर पुनः सुरु भएको आईपिएलको १४औं संस्करणमा कोलकाता नाइट राइडर्सले उत्कृष्ट सुरुआत गरेको छ। दुबईमा साेमबार राति भएको खेलमा बैंग्लोरलाई ९२ रनमै अलआउट गर्दै कोलकाताले ९ विकेटको जित निकाल्यो।

वरुण चक्रवर्ती र आन्द्रे रसेलले घातक बलिङ गरेपछि पहिला ब्याटिङ गरेको बैंग्लोर १९ ओभरमा ९२ रनमै अलआउट भयो । उसका लागि देवदुत पाडिकलले सर्वाधिक २२ रन बनाउँदा श्रीकर भारतले १६, हर्षल पटेलले १२ र ग्लेन म्याक्सवेलले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बैंग्लोरको इनिङ ध्वस्त बनाउने क्रममा कोलकाताका रसेल र चक्रावर्तीले समान ३ विकेट लिए । रसेलले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिउ भने चक्रवर्तीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । यस्तै, लोकेइ फर्गुसनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए।

९३ रनको सामान्य लक्ष्य कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । कोलकाताका सुभमन गिलले २४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४८ रन बनाए भने आईपिएलमा डेब्यू गरेका वेन्कटेस ऐयरले २७ बलमा ७ चौका १ छक्का प्रहार गर्दै ४१ रन बनाए । कोलकाताको एकमात्र विकेट युजभेन्द्र चहलले लिए।

जितपछि कोलकाता ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। बैंग्लोर भने १० अंकसहित तेस्रो स्थानमा छ।

Facebook Comments Box