
सन्दीप विकेटबिहीन बनेको खेलमा होबर्ट विजयी
बिग बास लिग खेलिरहका नेपाली क्रिकेटर सन्दीप लामिछाने दोस्रो खेलमा विकेटबिहीन भएका छन्। तर, सन्दीप विकेटविहीन भए पनि उनको टिम होबार्ट हुरिकेन्स भने विजयी भयो।
शनिबार भएको खेलमा होबर्ट हुरिकेन्सले डकवर्थ लेविस नियमका आधारमा सिड्नी सिक्सर्सलाई ४४ रनले हरायो । यो उसको पहिलो जित हो। होबार्ट पहिलो खेलमा १४ रनले पराजित भएको थियो। होबार्टले तेस्रो खेल मंगलबार पर्थ स्कोचर्ससँग खेल्नेछ।
जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित १८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। वर्षाको कारण २ ओभर घटेपछि डकवर्थ लेविस पद्धतिको आधारमा उक्त लक्ष्य पाएको हो।
सिड्नीका ओपनर जोश फिलिपेले सर्वाधिक ७२ रन बनाए। उनले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै, यता, मोइजेस हेनरिक्स २६ रनमा अविजित रहे। जेम्श भिन्स २६ रनमा आउट भए। होबार्टका जोएल पेरिसले ३ र न्ँथन एलिसले १ विकेट लिए। एकै ओभरमा २ क्याच छुटाउँदा सन्दीप भने विकेटबिहीन बने। उनले चार ओभरमा २४ रन खर्चिए।
टस जितेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो। होबार्टका ओपनर म्याथ्यु वेडले सर्वाधिक ९३ रन बनाए। उनले ४६ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। डार्सी शर्ट ५१ बलमा ७ चौका र ३ छक्कासहित ७३ रनमा अविजित रहे। क्लेव ज्वेल ४२ रनमा आउट भए। सिड्नीका टम करन र क्रिस जोर्डनले १-१ विकेट लिए।