प्रदेश २माथि कर्णालीको जित, दुवै टिम प्रतियोगिताबाट बाहिरिए

काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशले फराकिलो जित निकालेको छ। बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रदेश २ लाई २ विकेटले हरायो ।

यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। प्रदेश २ को पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ।

खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कर्णालीको जितमा प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे। राज शाहले ६, विपीन रावलले ५ तथा रमेश बुढाले ३ रन बनाए।

बलिङतर्फ प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट लिए। विवेक यादवले २ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ थालेको प्रदेश २ ले १३ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनायो।

प्रदेश २ का लागि सन्नी साहले सर्वाधिक १२ रन जोडे। सन्तोष कार्कीले ११ रन बनाए। पाँच खेलाडी शून्यमै आउट भए। कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिए भने अनुज चनाराले २ विकेट लिए। सात प्रदेश सम्मितलित प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

फाइनल खेल यही मङ्सिर १९ गते हुनेछ। लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अङ्कका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ। त्यस्तै सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ।

लिगको अन्तिम खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार खेल्नेछ। वाग्मती प्रदेश ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अङ्कका साथ चौंथो स्थानमा छ।

Facebook Comments Box