क्रिकेटराष्ट्रिय क्रिकेट

घरेलु संचनार सुधार गरे नेपाल ठूला देशलाई टक्कर दिन सक्षम हुन्छ : अक्रम

पहिलो पटक एसिया कप क्रिकेट खेल्ने लागेको नेपाली राष्ट्रिय टिमले भारत र पाकिस्तान जस्ता ठूला टिमसँग खेल्ने अवसर पाएको छ। नेपालले भोलि पाकिस्तानसँग उसकै भूमिमा खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

ठूला राष्ट्रसँग खेल्न लागेको नेपालका बारेमा पनि आफू जानकार भएको पाकिस्तानी पूर्वक्रिकेटर वासिम अक्रमले बताएका छन्। उनले एसिया कपमा भारत र पाकिस्तानबीचको खेलको मात्रै चर्चा भइरहेको बताउँदै नेपालमा बढिरहेको क्रिकेट चासोबारे आफू जानकार रहेको बताए।

सन् १९९२ का विश्वकप विजेता पकिस्तानी टिमका सदस्य रहेका अक्रमले दुबईमा एसिया कपको ट्रफी सार्वजनिक कार्यक्रममा क्रिकेटको चासो बढिरहेको नेपालजस्ता मुलुकलाई बेवास्ता गर्न नहुने प्रतिकृया दिए। उनले काठमाडौंमा भएको खेलमा नेपाली टिमप्रति दर्शकले देखाएको समर्थनलाई आफूले नियालेको बताए।

नेपालले एसिया कप छनोटको रूपमा रहेको प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदा हजारौ समर्थक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपस्थित थिए। अक्रमले भारत र पाकिस्तानजस्तै नेपालमा पनि क्रिकेटप्रति ठूलो लगाव रहेको बताए।

‘मैले नेपाली क्रिकेटलाई पछ्याइरहेको छु। उनीहरूले निकै राम्रो गरे र एसिया कपमा छनोट भए,’ उनले भने, ‘नेपालमा क्रिकेटप्रतिको चासो ठूलो छ। मैले रंगशाला भरिभराउ भएर पनि मैदानबाहिर रुखमा बसेर क्रिकेट हेरिरहेको नेपालको तस्बिरहरू हेरेको छु।’

‘क्रिकेटका लागि त्यो निकै गहिरो लगाव हो । जसरी नेपाल प्रतियोगितामा छनोट भएको छ, त्यसका लागि बधाई,’ उनले भने। अक्रमले नेपालले भौतिक र घरेलु क्रिकेटको संरचनामा सुधार गर्न आवश्यक रहेको पनि उल्लेख गरे।

भौतिक र घरेलु क्रिकेटको संरचना सुधार भए नेपालले ठूलासँग प्रतिस्पर्धा गर्न सुरु गर्ने विश्वास व्यक्त गरे।