ब्याटिङकै कारण खेल गुमायौँ : कप्तान मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङ राम्रो नहुँदा ओमानसँगको खेल गुमाउनु परेको बताएका छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।

एकदिवसीय अन्तराष्ट्रिय खेलमा पहिलोपल्ट कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान समेत रहेका पारस खड्काले ओपनिङ सम्हाले थिए, दुवै ब्याट्म्यान सस्तैमा पभेलियन फर्कंदा नेपाल दबाबमा आएको थियो । ज्ञानेन्द्र १२ बल १ रन बनाएर आउट भए भने पारस खड्का १४ बलमा ३ रन जोड्दै पभेलियन फर्किए ।

त्यसपछि आशा गरिएका ब्याट्सम्यान आरिफ सेख र रोहितकुमार पौडेल चाँडै आउट हुँदा नेपाल सामान्य लक्ष्य पछ्याउन पनि चुक्यो । बलिङ र ब्याटिङ दुवैमा नेपाल अन्तिमतिर चुक्दा जीतबाट वञ्चित रह्यो । ओमानलाई १९७ रनमा रोके पनि नेपालले लक्ष्य पूरा गर्न सकेन र ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

‘हामीले बलिङमा अन्तिमतिर ४ ओभरमा अली धेरै रन दियौं । त्यसलाई अल कम गर्न सकिन्थ्यो’ मल्लले भने ‘दोस्रो इनिङ्समा हामीले राम्रो शुरुवात दिन सकेनौं । तर हामीले पार्टनरसिप गरेर राम्रो गरे पनि चाँडै ३ विकेट गयो । मेरो विचारमा त्यसले गर्दा खेल हातबाट टाढा गयो ।’ मल्लले शरद र विनोद हुँदासम्म पनि आश रहेको तर उनीहरुको विकेट गएपछि गाह्रो भएको बताए ।

नेपालको शुरुवात ज्ञानेन्द्र र पारसले गरे पनि दुवै खेलाडी नेपालको स्कोर ४ हुँदा आउट भइसकेका थिए । उनले दुई खेलाडीले राम्रो गर्न गर्न सकेको भए तलसम्म सोच्नु नपर्ने बताए । ‘यदि हामीले राम्रो शुरुवात दिन सक्यौं भने यस्तो अवस्था फेरि आउँदैन र हामीले सकारात्मक भएर सोच्नुपर्छ’ मल्लले भने ।

नेपालले शुरुमा कसिलो बलिङ गर्दै ओमानको ५७ रन हुँदा ५ विकेट लिए पनि त्यसपछि ओमानले सम्हालिएर खेलेको थियो । त्यो पार्टनरसिप तोड्न नेपाललाई समय लाग्यो । पछि पार्टनरसिप तोडे पनि ओमानी पछिल्लो क्रमका खेलाडीले राम्रो ब्याटिङ गर्द १९७ स्को बनाउन सफल भयो ।

ओमानी खेलाडीको अनुभवको कारणले पछिसम्म ब्याटिङ गर्दै राम्रो स्कोर बनाएको ज्ञानेन्द्रले बताए । उनले उनीहरुको ब्याटिङ पनि तल सम्मै रहेको बताए । मल्लले आजको खेलका कमजोरी सुधार गर्दै अर्को खेलमा राम्रो खेल्नुपर्ने बताए ।

‘अर्को खेलमा हार भन्दा पनि राम्रो खेल्ने सोच्नुपर्छ । जित्नका लागि सोच्नुपर्छ । सकरात्मक सोच्नुपर्छ’ मल्लले भने, ‘हामीले आज राम्रो बलिङ र्गयौं, त्यसमा अलिकति सुधार गर्नुपर्छ । ब्याटिङमा खास गरेर अगाडि देखि राम्रो गर्न सक्यौं भने राम्रो हुन्छ ।’ आगामी खेलमा राम्रो प्रदर्शन गर्ने उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.