भारतविरुद्धको ५ खेलको टि–२० सिरिजमा घरेलु टोली वेस्टइन्डिजले लागतार दोस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा निकोलस पुरनको उत्कृष्ट ब्याटिङ मद्दतमा वेस्टइन्डिजले भारतलाई २ विकेटले हरायो।
भारतले दिएको १५३ रनको लक्ष्य वेस्टइन्टिजले १ ओभर बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो। उसका लागि निकोलस पुरनले ४० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६७ रन बनाए। यस्तै, सिम्रन हेटमायरले २२ र कप्तान रोवमन पावेलले २१ रनको योगदान दिए।
युभेन्द्र चाहलको १७औं ओभरमा तीन विकेट गएपछि भारत खेलमा फर्किएको थियो। उनले हेटमायर र जासन होल्टलको विकेट लिँदा रोमारियो सेफर्ड नआउट भएको छ। एकै ओभरमा तीन विकेट जाँदा वेस्टइन्डिज १२६–५को अवस्थाबाट १२८–८को नाजुक अवस्थामा पुगेको थियो।
त्यसपछि अकिल हुसेन र अल्जारी जोसेफले १७ बलमा २६ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। हुसेनले १० बलमा १६ र जोसेफले ८ बलमा १० रन बनाए।
भारतका लागि कप्तान हार्दिक पाण्ड्याले ३ तथा चहलले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५२ रन बनायो। उसका लागि तिलक बर्माले ५१ रन बनाए। उनले ४१ बमाल ५ चौका र १ छक्का प्रहार गरे। सिरिजको अघिल्लो खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनी भारतका लागि अर्धशतक बनाउने दोस्रो कान्छो खेलाडी बने।
यस्तै, इशान किशानले २३ बलमा २७ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले १८ बलमा २४ रन बनाए। वेस्टइन्डिजका हुसेन, जोसेफ र सेफर्डले समान १ विकेट लिए।