कोरोना त्रासबीच सुरू भयो युरोकप

युरोकप २०२० शुक्रबारबाट युरोपका विभिन्न ११ सहरमा सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेल इटालीको रोमस्थित ओलम्पिक स्टेडियमा हुने छ। जसमा इटाली र टर्की भिड्ने छन् । खेल नेपाली समय अनुसार राति १२ः४५मा हुने छ।

युरोकपको डिफेन्डिङ च्याम्पियन हो, क्रिस्टियानो रोनाल्डोको पोर्चुगल । अघिल्लो पटक युरोकप जित्दा भन्दा अहिलेको पोर्चिगिज टिम निकै बलियो छ, र टिम थुप्रै परिवर्तन पनि भएको छ। त्यसैले पोर्चुगल उपाधिको स्वभाविक दाबेदार हो ।

यस्तै, विश्वविजेता फ्रान्स पनि उपाधिको सबैभन्दा ठूलो दाबेदार हो । अघिल्लो पटक फ्रान्स पोर्चुगलसँग फाइनलमा पराजित भएको थियो, त्यसपछि उसले सन् २०१८मा विश्वकप उपाधि जित्यो । फ्रान्सले यस्तो गर्न सके यो दुर्लभ दोहोरो उपाधिको उपलब्धि हुनेछ । शीर्ष वरीयताको बेल्जियम र युवा इंग्ल्यान्डलाई पनि उपाधिको दाबेदारका रुपमा हेर्न सकिन्छ।

प्रतियोगिताको इतिहासमै पहिलोपल्ट युरोपका ११ सहरमा खेल हुनेछ । यसअघि बढीमा दुई देशसम्म प्रतियोगिता हुन्थ्यो । शुक्रबार रोमको ओलम्पिक स्टेडियममा हुने इटाली र टर्कीबीचको खेल हेर्न १६ हजार दर्शक उपस्थित हुने छन्।

युरोप अहिले कोरोना भाइरस संक्रमणको महामारीबाट मुक्त हुने तर्खरमा छ । युरोपमा संक्रमित संख्या घट्दै छ । खोप लगाउने काम बढ्दो छ । तर, यहीबीच युरोकप खेल्ने तयारीमा रहेका खेलाडीहरु संक्रमित भने भइरहेका छन्, यसले टिमको प्रदर्शनमा असर गर्ने देखिएको छ।

कोरोना महामारीकै कारण युईएफएले टिममा २६ खेलाडी राख्न पाउने व्यवस्था गरेको छ। स्पेनी फुटबल संघले त अझ घोषित टिमबाहिर पनि १७ खेलाडीलाई समानान्तर तयारीमा राखेको छ। डिफेन्डर डिएगो लोरेन्ट र कप्तान सर्जियो बुस्केटलाई कोरोना संक्रमण ले छोएपछि स्पेनी फुटबल संघ यति चनाखो बनेको हो ।

दुई स्विडेनी खेलाडी फरवार्ड डेजान कुलसेभ्स्की र मिडफिल्डर म्याथिस स्भानबर्ग पनि संक्रमित पाइएको छ । यी सबै चुनौतीका बावजुत पनि युइएफएले महामारीपछि युरोकप सफल आयोजना हुने पहिलो ठूलो प्रतियोगिता हुने बताएको छ। युईएफएले यसलाई महामारीबीच पनि युरोप सुरक्षित छ भनेर देखाउने यो अवसर भएको उल्लेख गरेको छ।

Facebook Comments Box