मेसीको सन्न्यासका लागि बार्सिलोनाको तयारी !

मेसी अहिले ३१ वर्षका भए । उनले बार्सिलोनाबाट सन्न्यास लिए के होला भनेर उनका समर्थकहरु कल्पना पनि गर्न चाहँदैनन् । तर, बार्सिलोना भने उनको सन्न्यासको तयारीमा लागिसकेको छ ।

फुटबलमा उमेर र फिटनेसले धेरै असर गर्छ । त्यसैले समर्थकले नचाहँदैमा मेसीको सन्न्यास टर्दैन । बढ्दो उमेरसँगै मेसीको अन्तिम खेल हेर्ने दिन नजिकिँदै छ । यद्यपी, मेसी अझै उत्कृष्ट फर्ममा छन् । ३१ वर्षको उमेरमा पनि उनी सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुटको दाबेदारमा अगाडि छन् । ला लिगाको जारी सिजन बार्सिलोनाका लागि २० खेलमा २१ गोल गरेका मेसीले समग्रमा २८ खेल खेल्दै सर्वाधिक २९ गोल गरेका छन् ।

तर, बार्सिलोना भने आफ्ना स्टार खेलाडीको सन्न्यासको तयारीमा लागेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सिजनको सुरुवातबाटै क्लब मेसीको सन्न्यासका लागि मानसिक तयारीमा लागेको जानकारी दिएका छन् ।

फ्यानले वा क्लबले चाहँदैमा मेसी सधैँ खेलिरहन सक्दैन । अब उनले बढीमा २–३ सिजन खेल्न सक्छन् । अथवा त्यसमा थप केही सिजन । तर एक दिन आउने छ जब मेसीले सन्न्यास लिने छन् र उनी फेरी क्याम्प नोउमा देखिने छैनन् ।

‘एकदिन मेसीले बार्सिलोनाका लागी अन्तिम खेल खेल्नेछन् र फेरी कहिल्यै त्यो जर्सीमा देखिने छैनन् । त्यो दिनका लागि हामी आफ्नो पक्षबाट तयार हुनैपर्छ । मानसिक रुपमा र टिमका रुपमा पनि । बार्सिलोना त्यही दिनका लागि तयार हुँदै छ ।’, बार्टोमेउले बताए ।

मेसीको सन्न्यासपछि बार्सिलोनाले दुईवटा चुनौतीको सामना गर्नुपर्ने छ । एउटा क्लबको लेगेसी कायम राख्न, अर्को क्लबका सर्वाधिक सफल खेलाडी मेसीको लेगेसी प्रतिस्थापन गर्न । बार्सिलोनामा मेसीको स्थान कसैले लिन त सक्दैन तर, मेसी नहुँदा क्लब र समर्थकले भर गर्न सक्ने खेलाडीको आवश्यकता पर्छ ।

बार्सिलोनामा पहिले नेमारलाई मेसीको उत्तराधिकारीका रुपमा हेर्ने गरिन्थ्यो । तर, गत सिजनको सुरुवातमा विश्वका सर्वाधिक महंगो खेलाडी बन्दै नेमारले बार्सिलोना छाडेपछि बार्सिलोना हरेक ट्रान्सफर मार्केटमा मेसीको अर्को उत्तराधिकारी खोज्न भौंतारिने गरेको छ ।

यसक्रममा बार्सिलोनाले खेलाडी अनुबन्ध गर्न युरोपमै सबैभन्दा बढी रकम खर्च गर्ने क्लब बन्न पुग्यो । यद्यपि हरेक सानाठूला खेलमा बार्सिलोनाको हार टार्न मेसी नै मैदान प्रवेश गर्नु परेको छ । चोटग्रस्त हुँदापनि बार्सिलोनाले मेसीलाई आराम दिन सकेको छैन ।

बार्सिलोना अहिले मानसिक रुपमा त मेसीको मेसीको सन्न्यासका लागि तयार भएको छ तर टिमका रुपमा सुदृढ हुन सकेको छैन । बार्सिलोना धेरैभन्दा धेरै युवा खेलाडी अनुबन्ध गरि रहेको छ । त्यो पनि महंगो मूल्यमा । बार्सिलोनाका लागि अहिले खर्चभन्दा लेगेसी महत्वपूर्ण रहेको स्पष्ट देख्न सकिन्छ ।

बार्सिलोनाले २१ वर्षिय फ्रेन्च स्ट्राइकर उसमान डेम्बेलेलाई १०५ मिलियन युरो तिरेर जर्मन क्लब डर्टमन्डबाट भित्र्यायो । डर्टमन्डमा उनको प्रदर्शन हेर्दा मेसीको बिँडो थाम्न सक्ने सम्भावना बोकेका खेलाडीजस्तै भान हुन्थ्यो । तर, बार्सिलोनामा उनी चल्न सकेनन् । कहिले चोटका कारण तर कहिले खराब प्रदर्शनका कारण उनी क्लब, समर्थक र मिडियाको मन जित्न असफल रहे । जारी सिजन केही सुधारिएको प्रदर्शन गरे तापनि बार्सिलोनाले उनलाई मेसीको विकल्पका रुपमा देख्न छाडिसकेको छ ।

गत सिजन किर्तिमानी १४२ मिलियन युरो तिरेर लिभरपुलबाट फिलिपे काउटिन्होलाई भित्र्याएको बार्सिलोना उनीबाट त अझ बढी निराश भएको छ । विश्वको तेस्रो महंगो खेलाडी बन्दै बार्सिलोना आएका काउटिन्होको यस्तै फर्म चलिरहे उनलाई सिजनको अन्त्यसँगै अन्यत्र बेच्न क्लब वाध्य हुनेछ ।

बार्सिलोनाले मेसीको सन्न्यासपछि टिममा बन्ने खालि ठाउँ भर्न अरु पनि युवा खेलाडी भित्र्याएको छ । बोर्डिअक्सबाट २१ वर्षिय ब्राजिलियन खेलाडी माल्कोमलाई भित्र्याएको बार्सिलोनाले ब्राजिलका अर्का खेलाडी आर्थर मेलो पनि भित्र्याएको थियो । २२ वर्षिय आर्थरबाट भने बार्सिलोनाले मेसीको भन्दापनि मिडफिल्डका बादशाह आन्द्रे इनिएस्टाको स्थान लिने अपेक्षा गरेको छ ।

मेसीले छाडेपछिको ट्रान्जिसन फेजमा लय नगुमाउन बार्सिलोनाले अन्य पनि थुप्रै युवा खेलाडी अनुबन्ध गरेको छ । अजाक्सका २१ वर्षिय डच मिडफिल्डर फ्रेङ्की डि जोङ र एट्लेटिको मिनिएरोका २० वर्षिय ब्राजिलियन राइट ब्याक इमर्सन जारी सिजनको अन्त्यसँगै बार्सिलोना आउने सहमति भइसकेको छ ।

बार्सिलोनाले एकजना खेलाडीको विकल्पका रुपमा यति धेरै युवा खेलाडीलाई ‘हिट एण्ड ट्रायल’ गर्नुले नै मेसीको सन्न्यासपछि बार्सिलोनाको अवस्था के होला भनेर अनुमान गर्न सकिन्छ । बार्सिलोनाले पनि यो कुरा राम्रोसँग बुझेको छ । वास्तवमा, बुझेको मात्र छैन आत्मसात पनि गरेको छ । त्यसैले त २–३ वर्षअघिदेखि नै उनको उत्तराधिकारी खोज्न लाखौं–करोडौं रकम पानी जसरी बगाउन हिच्किचाएको छैन ।

निर्वान झापाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP