एल क्लासिको, भीषण टकराव र मेसीका अविश्वसनीय रेकर्ड

Read Time:14 Minute

एल क्लासिको अर्थात रियल म्याड्रिड भर्सेस बार्सिलोनाबीचको भीडन्त । एल क्लासिकोलाई क्लब फुटबलको सबैभन्दा ठूलो खेल (च्याम्पियन्स लिग फाइनलपछि) र प्रतिष्ठाको सबैभन्दा भीषण भीडन्तका रुपमा हेरिन्छ ।

रियल र बार्सिलोना बीचको भीडन्त अर्थात् सिजनको दोस्रो एल क्लासिको आज राति हुँदै छ । रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टोफनो मैदानमा खेल राति १२ः४५ बजे सुरु हुनेछ । रियल र बार्सिलोनाका लागि यो खेल प्रतिष्ठाको लडाइँ त छँदैछ, उपाधि यात्रामा आफूलाई कायम राख्न पनि उत्तिकै महत्वपूर्ण छ।

२९ खेलमा ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने रियल ६३ अंकसहित तेस्रो अस्थानमा छ । शीर्ष स्थानको एट्लेटिकोको ६६ अंक छ।

एल क्लासिकोमा पछिल्ला दुई भीडन्तमा रियलले बाजी मारेको छ । यो सिजनको पहिलो एल क्लासिकोमा रियले ३–१ले विजयी भएको थियो।

अहिलेसम्म सबै प्रतियोगितामा गरी कुल २४५ एल क्लासिको भएका छन् । जसमा रियल ९७ जित निकाल्दा बार्सिलोना ९६ खेलमा विजयी भएको छ। यी दुईबीचका ५७ भीडन्त बराबरीमा सकिएका छन् । क्लासिकोमा कुल ८०८ गोल गरेका छन्, जसमा रियलले ४०८ गोल गर्दा बार्सिलोनाले ४०० गोल गरेको छ।

ला लिगामा भने १८१ एल क्लासिको भीडन्त भएका छन्। जसमा रियल ७४ र बार्सिलोना ७२ खेलमा विजयी भएका छन् भने ३५ क्लासिको बराबरीमा सकिएका छन्। क्लासिकोमा अहिलेसम्म कुल ५८० गोल भएको छ, त्यसमा रियलले २९१ र बार्सिलोनाले २८९ गोल गरेका छन्।

बार्सिलोना स्टार लियोनल मेसी एल क्लासिकोका सबैभन्दा सफल खेलाडी हुन् । उनले एल क्लासिकोमा मात्र होइन समग्र फुटबलमै धेरै ऐतिहासिक रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन् ।

व्यक्तिगत अवार्ड र ट्रफीको जोडघटाउमा मेसी रोनाल्डोभन्दा पछाडि भए पनि एल क्लासिकोमा भने उनले रोनाल्डोलाई मात्र होइन दुवै क्लबका सबै खेलाडीलाई पछि पारेका छन् । रोनाल्डो जारी सिजनको सुरुवात अघि इटालियन जाइन्ट युभेन्टसमा आबद्ध भएका छन् ।

मेसीका नाममा रेकर्डको चाङ

क्याम्प नोउमा भएको सन् २०१९काे स्पेनिस सुपर कप सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाका लागि सान्त्वना गोल गरेका मेसी उक्त गोलसँगै एल क्लासिकोमा २६ गोल गर्ने पहिलो खेलाडी बने । उनीपछि सर्वाधिक गोल गर्नेमा रियल म्याड्रिडका अल्फ्रेडो डी स्टेफानो छन् । उनले १८ गोल गरेका छन् भने १७ गोल गरेका रोनाल्डो तेस्रो स्थानमा छन् ।

त्यति मात्र होइन, उक्त गोलसँगै उनी एल क्लासिकोमा सान्टिएगो बर्नबाउमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले रियल म्याड्रिडविरुद्ध उसकै घरेलु मैदानमा १६ गोल गरिसकेका छन् । साथसाथै उनी ला लिगाको इतिहासमा रियल म्याड्रिडविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । ला लिगामा मात्रै उनले रियल म्याड्रिडविरुद्ध १७ गोल गरेका छन् ।

This image has an empty alt attribute; its file name is messi-celebration-in-el-classico.jpg
रियल म्याड्रिडको घरेलु मैदानमा भएको एल क्लासिकोमा गोल गरेपछि सेलिब्रेसन गर्दा मेसी ।

त्यस्तै, उनी युरोपका शीर्ष ५ लिगमा खेल्ने खेलाडीमध्ये एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । जर्मनी (तत्कालीन पश्चिम जर्मनी)का खेलाडी गर्ड मुलरले सन् १९६४ देखि १९७९ सम्म १५ वर्ष बायर्न म्युनिखका लागि खेल्ने क्रममा ५२५ गोल गरेका थिए ।

२०१७ डिसेम्बर २३ मा भएको एल क्लासिकोमा बार्सिलोनाका लागि ५२६औँ गोल गर्दै सो रेकर्ड तोडेका थिए । सो गोलसँगै मेसी गर्ड मुलरलाई उछिन्दै एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । साथसाथै, मेसी ला लिगामा लगातार १० सिजनसम्म हरेक सिजन १५ भन्दा बढी गोल गर्ने एक मात्र खेलाडी पनि हुन् ।


विपक्षीलाई स्टेन्डिङ ओवेसन

तमाम विवाद र टकरावबीच पनि एल क्लासिकोमा केही थोरै खेलाडी छन् जसलाई दुवै टिमका समर्थकले उत्तिकै माया र सम्मान गर्छन् । विपक्षी भए तापनि उनीहरूको खेल र खेल्ने शैलीको खुलेर सम्मान गर्दछन् । जसका लागि समर्थकहरुले ती खेलाडी आफ्नो मैदानमा खेल्न आएका बेला ‘स्टेन्डिङ ओवेसन’ दिन्छन् अर्थात् सम्मानमा उठेर ताली बजाउने गर्छन् ।

सन् १९८० मा लरी कनिंघम एल क्लासिकोमा स्टेन्डिङ ओवेसन पाउने पहिलो एवं रियल म्याड्रिडका अहिलेसम्मका एक मात्र खेलाडी बने । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा उनको उत्कृष्ट प्रदर्शनको मद्दतले रियल म्याड्रिड २–० ले विजयी भएको थियो ।

खेल सकिएर उनले मैदान छोड्दा बार्सिलोनाका समर्थकले उभिएर ताली बजाउँदै उनको प्रदर्शनको प्रशंसा एवं सम्मान गरेका थिए । त्यसपछि १९८३ को कोपा डेल रे फाइनलमा बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर डिएगो म्याराडोनाले गरेको एउट दर्शनीय गोलका लागि सान्टिएगो बर्नबाउमा स्टेन्डिङ ओवेसन पाए ।

सन् २००५ मा रियल म्याड्रिडलाई ३–० ले हराउने क्रममा दुई गोल गरेका रोनाल्डिन्होलाई पनि रियल म्याड्रिडका समर्थकले स्टेन्डिङ ओवेसन दिएका थिए । त्यस्तै, सन् २०१५ मा बार्सिलोना ४–० ले विजयी भएको खेलमा तेस्रो गोल गरेका आन्द्रे इनिएस्टा सब्स्टिच्युट भएर मैदान छाड्दा सान्टिएगो बर्नबाउमा उपस्थित सबै दर्शकका साथसाथै बेन्चमा बसेका दुवै क्लबका खेलाडीले पनि स्टेन्डिङ ओवेसन दिएका थिए ।

This image has an empty alt attribute; its file name is ronaldinho-and-inesta.jpg
रियल म्याड्रिडको घरेलु मैदानमा रोनाल्डिन्हो र इनिएस्टालाई स्टेन्डिंग ओवेसन दिइँदै ।

मेसी र रोनाल्डो दुवैले एल क्लासिकोमा धेरै दर्शनीय र उल्लेखनीय प्रदर्शन र गोल गरेका छन् । तर, रोनाल्डो र मेसीबीचको प्रतिस्पर्धा र उनीहरु दुईका समर्थकबीचको प्रतिस्पर्धाका कारण दुवैले स्टेन्डिङ ओवेसन पाउन सकेनन् । तर, अब रोनाल्डोले रियल छाडेर युभेन्टस गइसकेकाले भोलीका दिनमा आफ्नो खेल कौशलले बर्नबाउका घरेलु दर्शकलाई प्रभावित गर्दै स्टेन्डिङ ओवेसन नपाउलान् भन्न सकिन्न ।

एल क्लासिकोको इतिहास र बढ्दो टकराव

पहिले रियल म्याड्रिड र बार्सिलोनाबीच ला लिगामा हुने भिडन्तलाई मात्र एल क्लासिको भनिन्थ्यो । पछि आएर यी दुई टिमबीचका जुनसुकै प्रतिस्पर्धालाई पनि एल क्लासिको भन्न थालिएको हो । एल क्लासिको पहिलेदेखि नै प्रतिष्ठाको लडाइँ थियो, तर अहिलेजस्तो भीषण भने थिएन ।

स्पेनका दुई ठूला सहर म्याड्रिड र बार्सिलोनाबीचको राजनीतिक भिन्नताका कारण यी दुईबीचको खेल प्रतिष्ठाको लडाइँ बनेको थियो । म्याड्रिड स्पेनिस राष्ट्रवादको पक्षमा थियो भने बार्सिलोना क्याटलान राष्ट्रवादको पक्षमा ।

सन् १९४३ को कोपा डेल रे सेमिफाइनलसम्म यी दुई टिम केवल प्रतिस्पर्धी थिए । तर, त्यसपछि भने क्लब फुटबल इतिहासकै सबैभन्दा ठूला प्रतिद्वन्द्वी बन्न पुगे । उक्त सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाको घरेलु मैदानमा ३–० ले हारेर आएको रियल म्याड्रिडले आफ्नो मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनालाई ११–१ ले हराएको थियो । सो खेलपछि दुवै टिमले एल क्लासिको जित्नलाई होइन, एक–अर्कालाई हराउन खेल्न थाले ।

सन् १९५० मा अल्फ्रेडो डी स्टेफानोको ट्रान्सफर काण्डले एल क्लासिको टकरावमा आगोमा घिउ थप्ने काम ग¥यो । अर्जेन्टिनी स्ट्राइकर डी स्टेफानोलाई दुवै क्लबले भित्र्याउन चाहन्थे र त्यो घच्चाघच्ची यति बढ्यो कि फिफाले स्टेफानोलाई बार्सिलोना र रियल म्याड्रिडबाट एक–एक सिजन पालैपालो खेल्ने निर्देशन दियो ।

This image has an empty alt attribute; its file name is de-stefano-celebrating-his-one-of-his-many-goals-in-el-classico.jpg
रियल म्याड्रिडका सर्वाधिक सफल खेलाडी मानिने डी स्टेफानो एल क्लासिकोमा गोल गरेपछि खुशीयाली मनाउँदै ।

तर, उनले रियल म्याड्रिड रोजे र आफ्नो पहिलो एल क्लासिकोमा दुई गोल गर्दै रियललाई जिताए । कालान्तरमा गएर स्टेफानो रियल म्याड्रिडका सर्वाधिक सफल खेलाडी बने भने उनको खेलजीवनभर रियल म्याड्रिड युरोपको सर्वाधिक सफल क्लब रह्यो ।

त्यसको ५० वर्षपछि सन् २००० मा पोर्चुगलका लुइस फिगोको ट्रान्सफर काण्डले एल क्लासिकोलाई नयाँ उचाइमा पुर्‍यायो । रियल म्याड्रिडका वर्तमान अध्यक्ष फ्लोरेन्टिनो पेरेज आफू अध्यक्षको उम्मेदवार हुँदा बार्सिलोनाका तत्कालीन उपकप्तान लुइस फिगोलाई २-४ मिलियन दिएर एउटा सहमति गरे ।

पेरेजले चुनाव जिते फिगो म्याड्रिड जानुपर्ने, फिगोले सो सहमति तोडे उनले ३० मिलियन पेरेजलाई तिर्नुपर्ने । फिगो बार्सा छाडेर म्याड्रिड जाने हल्ला बढेपछि फिगोले आफ्ना मिल्ने साथी पेप ग्वार्डिओलालाई आफूले बार्सिलोना छाड्न नचाहेको बताए ।

तर, उता पेरेजले फिगोलाई म्याड्रिड ल्याउँछु भनेर चुनाव जितेपछि बार्सिलोनाले फिगोलाई राख्न सहमतिअनुसार फिगोले तिर्नुपर्ने ३० मिलियन तिर्नुपर्ने हुन्थ्यो । अर्थात्, बार्सिलोनाले आफ्नै खेलाडी म्याड्रिडसँग ३० मिलियन तिरेर किन्नुपर्ने भयो ।

This image has an empty alt attribute; its file name is luis-figo-humiliated-in-el-classico-by-barca-fans.jpg
लुइस फिगोले रियल म्याड्रिडबाट खेलेको पहिलो एल क्लासिकोमा कर्नर प्रहार गर्न लाग्दा बार्सिलोना समर्थकले उनलाई प्रहार गरेको सुंगुरको टाउको ।

अन्ततः फिगो म्याड्रिड गए र एल क्लासिको खेल्न बार्सिलोनाको मैदानमा रियल म्याड्रिडको जर्सीमा उत्रिँदा बार्सिलोनाका समर्थकले उनीमाथि १०,००० का नक्कली नोट, सिक्का, चक्कु, रक्सीको बोतलले प्रहार गरे । विशेषगरी, बार्सिलोनाका उग्रवादी समर्थक समूह भनेर चिनिने ‘बोइक्सस नोइस’ले उनीमाथि बोतल र सुँगुरको टाउकोले प्रहार गरेको थियो ।

त्यसपछि थप चर्किएको बार्सिलोना र रियल म्याड्रिडबिचको टकराव मेसी र रोनाल्डोबिचको प्रतिस्पर्धाले अझ आकाशियो । पछिल्ला एक दशक एल क्लासिको स्पेनमा रियल म्याड्रिड र बार्सिलोनाबिचको भिडन्तमा हेरिन्थ्यो भने बाँकि विश्वमा मेसी र रोनाल्डोबिचको प्रतिस्पर्धाका रुपमा हेरिन्थ्यो ।

(एजेन्सीको सहयोगमा)

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

One thought on “एल क्लासिको, भीषण टकराव र मेसीका अविश्वसनीय रेकर्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post वुल्भ्सले फुलह्यामलाई हरायो
Next post एपिएफले जित्यो मेयर्स कप वुमन्स च्याम्पियनसिप उपाधि
Close