रियलमा नाचोलाई दुर्लभ कीर्तिमान बनाउने अवसर

नाचो फर्नान्डेजले रियल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन्। नयाँ सम्झौता अनुसार उनी २०२३ सम्म रियलमै बस्ने छन्।

२०२२ मा सकिने उनको पुरानो सम्झौतामा एक वर्ष थप गरिएको हो। उनले गत सिजन रियलको डिफेन्समा निर्णायक भूमिका निर्वाह गरेपछि नयाँ सम्झौताका लागि बाटो खुलेको थियो।

रियल र नाचोको अन्योन्याश्रित सम्बन्ध

नाचो २० वर्ष अघि रियल मड्रिडमा आबद्ध भएका थिए। ११ वर्षको उमेरमा रियलको एकेडेमीबाट खेल्न थालेको नाचोले सिनियर टिमबाट खेल्न थालेको एक दशक पुरा भइसकेको छ।

उनले अप्रिल २०११ मा जोसे माउरिन्हो रियलका प्रशिक्षक छँदा भ्यालेन्सियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यु गरेका हुन्। उनको डेब्यु खेलमा रियल ६–३ ले विजयी भएको थियो।

उनले त्यसयता २३३ खेलमा रियलको प्रतिनिधत्व गरिसकेका छन्। सिनियर टिममा आउनु अघि उनले रियलको एकेडेमी टिम ‘क्यासिला’बाट १११ खेल खेलेका थिए। उनी एकेडेमीमा छँदा क्यासिला सन् २०११÷१२ मा ला लिगाको दोस्रो डिभिजन सेगुन्डा डिभिजनमा बढोत्तरी पनि भएको थियो।

३१ वर्षिय नाचोले रियलका लागि च्याम्यिन्स लिगका ४४ खेल खेलेका छन् जसक्रममा २०१४ देखि २०१८ कोे बीचमा ४ पटक च्याम्पियन पनि बन्न सफल भएका छन्।

गत सिजन जिनेदिन जिदानले उनलाई ३३ खेलमा मैदान उतारेका थिए। सिजनका पछिल्ला खेलमा नाचोले एडर मिलिटाओ र रफाएल भरानेसँग मिलेर रियलको डिफेन्समा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै प्रदर्शनको प्रेरणामा रियल मड्रिड ला लिगामा दोस्रो भएको थियो।

करियरकै उत्कृष्ट फर्ममा रहेको बेला युरोकप २०२० को स्पेनिस टिममा नाचो नपर्दा विश्व फुटबल नै चकित भएको थियो। उनी मात्र होइन स्पेनका प्रशिक्षक लुइस एनरिकेले युरोकपको टिममा रियल मड्रिडका एकजना खेलाडीलाई पनि सामेल गरेनन्। नाचोले स्पेनका लागि २२ खेल खेलेका छन्।

रियल मड्रिडमा दुर्लभ कीर्तिमान कायम गर्ने अवसर

लस ब्लाङ्कोस टिमसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेसँगै नाचोलाई रियल मड्रिडबाट दुर्लभ कीर्तिमान बनाउने अवसर प्राप्त भएको छ। इतिहासको विभिन्न कालखण्डका सबैभन्दा सफल र उत्कृष्ट खेलाडीलाई आबद्ध गरेको रियल मड्रिड खेलाडीका मामलामा भने स्वार्थी टिम हो।

आजसम्म रियल मड्रिडबाट करियर सुरु गरेर त्यहीँबाट मात्र खेलेर सन्न्यास लिने खेलाडी एकजना पनि छैनन्। रियल मड्रिडमा एकजना पनि ‘वान–क्लब म्यान’ छैनन्। तर, रियलको एकेडेमीका उत्पादन नाचोले टिममा अवसर पाए पनि नपाए पनि क्लब छाडेर कहीँ गएका छैनन्।

हाल ३१ वर्षका नाचोले रियल मड्रिडसँगको सम्झौता सकिएसँगै व्यावसायीक फुटबलबाट सन्न्यास लिए भने उनी क्लबको इतिहासमै रियलको जर्सीमा मात्र देखिएका एकमात्र खेलाडी हुनेछन्। ला फेब्रिकाका अन्य उत्पादन, जस्तै डानी कार्भाहाल, लुकास भाज्क्वेजलगायतले रियलको सिनियर टिममा आबद्ध हुनुअघि अन्य क्लबबाट खेलेका थिए।

त्यसैले, अब सम्झौता दुई वर्ष लम्बिएसँगै उनलाई दुर्लभ कीर्तिमान कायम गर्ने अवसर प्राप्त भएको छ।

Facebook Comments Box