नेमार सान्तोष फर्कने !

1 Apr, 2024

ब्राजिलियन सुपरस्टार नेमार जुनियर बाल्यकाल क्लब ‘सान्तोष’ फर्कने चर्चा चलेको छ।

सिजनको साउदी क्लब अल हिलालमा आबद्ध भएका नेमार अहिले चोटका कारण मैदानम बाहिर छन्। उनी गत नोभेम्बरमा भएको विश्वकप छनोट अन्तर्गतको उरुग्वेविरुद्धको खेलमा घाइते भएका थिए। उनको कुर्कुचामा चोट लागेको छ।

अहिले ब्राजिलमै रहेर चोटमुक्त हुने प्रयास गरिसकेका नेमार सन् २०२५मा सान्तोष फर्कने खबर ब्राजिलियन सञ्चारमाध्यमहरुले छापेका छन्।

समाचारअनुसार नेमारले क्लबका खेलाडी र पदाधिकारीहरुसँग आफू सन् २०२५मा क्लबमा फर्कने बताएको छन्। तर, नेमार अल हिलाल छाडेर सान्तोष फर्कने खबरको पुष्टी भने भएको छैन।

ब्राजिलकै चर्चित र सफल क्लब सान्तोष इतिहासमै पहिलो पटक दोस्रो डिभिजन खेलिरहेको छ। अघिल्लो सिजन खराब प्रदर्शन गरेपछि सान्तोष रेलिगेसनमा परेको थियो।

अर्को सिजन सान्तोष शीर्ष डिभिजनमा फर्किएसँगै नेमार पनि टिममा फर्कन चाहेका छन्।

नेमार सान्तोषका अहिलेसम्मकै उत्कृष्ट उत्पादनमध्ये एक हुन्। उनले सान्तोषबाट २००९ बाट २०१३ सम्म ५ सिजनमा २२५ खेलमा १३६ गोल गरेका थिए।

त्यसपछि उनी बार्सिलोना आएका थिए। बार्सिलोनामा ४ सिजन बिताउँदा १८६ खेलमा १०५ गोल गरेका थिए। त्यसपछि उनी सन् २०१८मा कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी गएका थिए। त्यहाँ उनले ६ सिजनमा १७३ खेल खेल्दै ११८ गोल गरेका थिए।

यो सिजनको सुरुआतमा नेमार फ्रि ट्रान्सरमा अल हिलाल पुगेका थिए। त्यहाँ उनले ५ खेल मात्र खेल्न पाएका छन्। जसमा उनले १ गोल गरेका छन्।