दिल्लीमा सन्दीपको सम्भावना कस्तो छ ?

युएईमा शनिबारबाट इन्डियन प्रिमियर लिग (आईपिएल)को १३औं संस्करण सुरु भएको छ । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीचको खेलसँगै आईपिएलको रौनक सुरु भएको हो ।

युएई जारी आईपिएलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पनि हुने छन् । उनी लागतार तीन सिजनदेखि दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । अघिल्ला दुई सिजन कमै मात्र अवसर पाएका सन्दीपलाई यो पटक पनि टिममा पर्न निकै कठीन छ ।

दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता स्पिनर रहेकाले पनि सन्दीपलाई प्लेइङ सेटमा स्थान बनाउन कठीन भएको हो ।

सिपिएल खेलेर भर्खरै युएई आएका सन्दीपको क्वारेन्टिन अवधि शनिबार मात्र सकिएकाले पनि पञ्जावविरुद्धको खेलमा सन्दीप बेन्चमै रहन सक्ने छन् । तर, सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेकाले उनलाई सुरुावतमै खेलाउने सम्भावना पनि छ ।

सिपिएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए । सिपिएलमा सन्दीपले ५.२७ इकोनोमीमा बलिङ गरेका छन् । एकखेल बाहेक सबै खेलमा सन्दीपले विकेट लिएका थिए । सिपिएलको उत्कृष्ट फर्म सन्दीपलाई आईपीएलमा यसपालि प्लेइङमै खेलाउन सक्ने बलियो आधार हो । गत वर्ष सबैजसो संरचनामा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि सन्दीपको दिल्लीमा पहिलो रोजाइ पक्का छैन ।

दिल्लीमा स्तरीय स्पिनरको कुनै कमी छैन । रविचन्द्रन अश्विन, अक्षर पटेल र अमित मिश्रासँग सन्दीपले पहिलो रोजाइमा स्थान पाउन प्रतिस्पर्धा गर्नुपर्नेछ । दुवै लेग स्पिनर रहेका कारण दिल्लीले युवा सन्दीप र भेट्रान मिश्रामध्ये एकलाई बाहिर राख्ने सम्भावना पनि प्रवल रहन्छ । तर, युएईको पिचको ज्ञान सन्दीपमा राम्रो भएको र त्यहाँ धेरै खेल खेलेका पनि उनलाई मिश्राको स्थानमा खेलाउने सम्भावना भने छ ।

३८ वर्षे मिश्राले २००८ को पहिलो संस्करणदेखि नै आईपीएलमा खेल्दै आएका छन् । उनले १ ५७ विकेट लिइसकेका छन् । गत सिजन सन्दीपले ६ खेलमा ८ र मिश्राले ११ खेलमा ११ विकेट लिएका थिए ।

अफ स्पिनर अश्विनलाई यसैसिजन दिल्ली आएका हुन् । उनले गत सिजनमा पन्जाबका लागि १४ खेलमा १५ विकेट लिएका थिए । अश्विनले आईपीएलमा १२५ विकेट लिइसकेका छन् ।

क्रिकेट विश्लेषक आकाश चोपडाले सन्दीपलाई सुरुआती टोलीमा राख्दै चार स्पिनरमध्ये तीन स्पिनरलाई दिल्लीले प्लेइङ ११ मा खेलाउनु पर्ने बताएका छन् ।

दिल्लीको विदेशी खेलाडीको कोटामा रहेकामध्येबाट स्पिनरमा एक्लो भएका कारण सन्दीपले यसपालि धेरै खेल खेल्ने मौका पाउने सम्भावना छ । युएईमा धेरे खेल खेलेकाले पनि सन्दीपलाई प्लेइङ सेटमा पर्न सहयोग गर्ने छ ।

सन्दीप आफैं पनि मौका पाउँदा राम्रो गर्न सके नियमित टिम पर्न सक्ने बताउँछन् । दिल्लीसँगको सन्दीपको सम्झौता यसै सिजनपछि सकिने भएकाले पनि अर्को सिजन पनि आईपिएललाई निरन्तरता दिन सन्दीपले यो सिजन उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ।

यसको एउटा अर्को कारण पनि छ । यूएईको विकेटबारे अन्य खेलाडी अनभिज्ञ जस्तै छन्, सन्दीपका लागि भने यो गल्फ राष्ट्रका मैदानहरू पानी पँधेरोजस्तै छ । उनले पीएसएल, अफगान प्रिमियर लिग, टी–१० बाहेक नेपालबाट विश्व क्रिकेट लिग च्याम्पियनसिप, एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय यूएईमै खेलेका छन् । यो सन्दीपको बलियो पक्ष हो ।

सन्दीप सबैभन्दा बढी फ्रेन्चाइज लिग खेल्नेमा शीर्ष खेलाडीमा पर्छन । त्यसले सन्दीपलाई युवा अवस्थामै अनुभवी बनाएको छ । दिल्लीलाई यसपालि उपाधिको एक दाबेदार मानिएको छ । त्यसमा उनको भूमिका पनि महत्वपूर्ण हुने छ ।

आईपीएलको इतिहासमा फाइनल पुग्न नसकेको एकमात्र टोली दिल्ली हो । गत सिजन टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरी प्लेअफसम्म यात्रा तय गरेको थियो । स्पिनरका कारण मात्र नभई दिल्ली निकै बलियो टोली देखिएको छ ।

ब्याटिङमा शिखर धवन, पृथ्वी श, रिसब पन्त, कप्तान श्रेयस ऐयर, एलेक्स क्यारी, सिमरन हेटमायर, मार्कस स्टोइनिसजस्ता खेलाडी छन् । तीव्र बलिङमा इशान्त शर्मा, कागिसो राबाडा, मोहित शर्मा, साम्स, नोर्टजेले दिल्लीलाई निकै बलियो टोलीमा उभ्याएको छ ।

दिल्लीले पनि उपाधि लक्ष्य बनाएको छ । दिल्लीले सन्दीपको उपाधिको भोक मेटाउला वा सन्दीपले दिल्लीको लक्ष्य पूरा गर्लान्? धेरै यही अपेक्षामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP