नेपालका पहिलो ओलम्पियनले यसरी सम्झिए ६ दशकअघिको त्यो ओलम्पिक

अहिले जापानको टोक्योमा ३२औं ओलम्पिक जारी छ। ५ नेपाली खेलाडी प्रतिस्पर्धाका लागि जापानमा छन्।

करिब ६ दशकअघि जापानबाटै नेपालको ओलम्पिक यात्रा सुरु भयो। ठीक ५७ वर्षअघिको टोक्यो ओलम्पिकमा ६ नेपाली खेलाडी सहभागी थिए । ती ६ मध्ये ४ जना हङकङमा कार्यरत गोर्खा सैनिक थिए भने २ जना नेपालबाटै टोक्यो पुगेका थिए।

तीमध्ये एक हुन्, चितवनका रामप्रसाद गुरुङ। रामप्रसादले ६ दशकअघि नेपालको पहिलो ओलम्पियन बन्ने अवसर पाए । त्यतिबेला उनी हङकङमा गोर्खा सैनिकका रूपमा कार्यरत थिए ।

सन् १९६४मा हङकङबाटै ओलम्पिकमा सहभागीता जनाउन रामप्रसद टोक्यो पुगेका थिए । उनी बक्सिङमा प्रतिस्पर्धा गर्न टोक्यो पुगेका थिए । हाल चितवनको भरतपुरस्थित बरौजीमा अवकाश जीवन बिताइरहेका रामप्रसादसँग ६ दशकअघिको त्यो ओलिम्पिक सम्झना अझै ताजै छ।

रामप्रसादसँगै ब्रिटिश सेनामा कार्यरत भीमबहादुर गुरुङ, नमसिंह थापा र ओमप्रसाद पुन पनि हङकङबाटै टोक्यो पुगेका थिए । चारैजनाले बक्सिङमा प्रतिस्पर्धा गर्दा नेपालबाट गएका २ जनाले एथलेटिक्समा प्रतिस्पर्धा गरेका थिए।

ओलम्पिक खेल्न टोक्यो पुगेका रामप्रसाद सुरुमै प्रभावित भए । ‘टोक्यो ओलिम्पिक्स स्थलमा रहेको सुविधा सम्पन्न बक्सिङ अभ्यास स्थल देख्दै निकै खुसी भएँ, अझ त्यही खेल्न पाउँदाको क्षण सम्झँदा अहिले पनि दंग पर्छु’ उनले सुनाए।

रामप्रसादले त्यो क्षण सम्झिए, ‘हामीसँग स्यान्डब्यागमा मुक्का हानेको मात्रै अनुभव थियो। तर टोक्योमा अभ्यास स्थलमा विभिन्न उपकरणहरू पनि थिए। त्यसमा हामीले पहिलो पटक अभ्यास ग¥यौँ।’ अरू ओलम्पियनहरुसँग अभ्यास गरेको क्षण अझै उनको मनमस्तिष्टकमा अझै ताजै छ।

ओलम्पिकमा छानिँदाको त्यो क्षण

टोक्यो ओलम्पिकमा आफ्नो नाम छनोट हुँदा रामप्रसाद घर विदा नेपाल आएका थिए । ४ वर्षपछि घर आएका उनी चितवनस्थित आफ्नै घरमा परिवारलाई खेती किसानीमा सघाउँदै थिए।

छुट्टिको सदुपयोग गर्दै ट्याक्टरले खेत जोतिरहेका उनलाई तुरुन्त हङकङ (पल्टन) फर्कन सन्देस आयो। कुनै कारण नै उल्लेख नगरेकाले उनी पल्टन गएनन् । उनी भन्छन्, ‘कुनै कारण खुलाइएको थिएन, त्यसैले तत्काल पल्टन गइनँ । जवाफ समेत पठाइनँ ।’

जब उनी विदा सकेर पल्टन फर्कन काठमाडौं आए, उनलाई तुरुन्तै पल्टनमा पठाइयो। ‘पल्टन पुग्दा माहोल छुटै थियो । साथीहरुले ओलम्पिका लागि छनोट भएको सुनाए । एकछिन विश्वासै गर्न सकिनँ । पल्टन पुगेर लुगा फेरिनसक्दै सीधै तालिम गर्ने ठाउँमा लगियो। म अचम्मित भएँ,’ रामप्रसादनले त्यो क्षण समिझाए ।

हङकङमा सैनिकका रूपमा बक्सिङ खेल्ने गरेका उनलाई ओलम्पिकमा भाग लिन जानुअघि त्यहाँको ‘ल्यान्ड फोर्सेस सिक्स गोर्खा राइफल्स’ले वर्षको उत्कृष्ट बक्सिङ खेलाडीको उपाधि दिएको थियो।

सेनाको विमानमा जापानको यात्रा

रामप्रसादसँगै टोक्यो ओलम्पिक्समा ब्रिटिश सेनामा कार्यरत भीमबहादुर गुरुङ, नमसिंह थापा र ओमप्रसाद पुनले भाग लिएका थिए। चारै जना सेनाको सामग्री बोक्ने ‘हक्र्युलिस’ विमानमा टोक्यो पुगे।

उनी भन्छन्, ‘त्यतिबेला हङकङमा २४ घन्टामा राजमुकुटको चिन्हसहितको नेपाली कोट हाम्रा लागि तयार पारिएको थियो।’ ओकिनावामा अमेरिकी फौजहरूसँग एक हप्ता बक्सिङ अभ्यास गरेको पनि उनले सम्झिए।

ब्रिटिश फौजले नै नेपाली खेलकुद निकायसँग समन्वय गरी ओलम्पिक खेल्ने व्यवस्थापन गरिदिएको रामप्रसाद बताउँछन्।

पहिलो खेलमै हार

जापानको टोक्यो पुगेपछि चारजना नेपाली मुक्केबाजहरूलाई अस्ट्रेलियाका फ्लाइवेट च्याम्पियन विःली टिंगल र आयल्यान्डका बक्सिङ खेलाडीहरूले प्रशिक्षण दिएको रामप्रसाद बताउँछन्। ‘माटो भरिएका बोरामा मुक्का हानेर बक्सिङको प्रशिक्षण गरेका थियौं । नयाँ ठाउँ र त्यहाँका खेल सामग्री प्रयोग गरी तालिम गर्न निकै गाह्रो भयो,’ उनले प्रशिक्षणको ती दिनको सम्झना गरे।

टोक्यो ओलम्पिको उद्घाटनमा मार्चपासमा नेपाली झण्डा नमसिंह थापाले बकेका थिए । ‘त्यत्रो दर्शकबीच नेपाली पोशाक लगाएर रंगशालामा हिँड्दै निकै गर्व महसुस भयो,’ उनी भन्छन्।

टोक्यो अ‍ोलम्पिकमा चार नेपाली बक्सरमध्ये रामप्रसादसहित तीन जना पहिलो चरणमै रोकियो । ओमबहादुर पुन दोस्रो चरणमा पुगेका थिए।

‘पहिलो रोक्ने, पछि आक्रमण गर्ने योजना’

लाइटवेट समूहमा रामप्रसादले पहिलो खेलमै हंगेरीका बक्सरलाई प्रतिद्वन्द्वीका रुपमा पाए। हंगेरीका बक्सरविरुद्ध रामप्रसादले आफैं योजना बनाए। पहिलो रोक्ने, पछि आक्रामण गर्ने । उनी योजनामा सफल हुँदै थिए, तर रेफ्रिले बीचमै खेल रोके र हंगेरीका बक्सरलाई विजयी घोषण गरे।

‘बलियो प्रतिस्पर्धी थिए, तर जोडदार मुक्का खाएको थिइनँ । पहिलो राउन्डमा भाग्ने र छल्ने अनि दोस्रो राउन्डमा आक्रमण गर्ने योजना थियो,’ उनी भन्छन्, ‘तर मलाई केही नभइ रेफ्रीले खेल रोकिदिएपछि म हार्न पुगेँ। म त अचम्ममा परेँ, तर के गर्नु निर्णय स्वीकार्नुको विकल्प थिएन।’
पहिलो पटक ओलिम्पिक्समा भाग लिएपछि सिधै फौजमा फर्किएका उनले दोस्रो पटक पनि त्यस्तै मौका पाएदेखि राम्रो प्रदर्शन गर्ने अभिलाषा आफूले पालेका थिए। तर त्यस्तो मौका कहिल्यै आएनन्। उनले १९६६मै बक्सिङबाट सन्यास लिए।

गंगाबहादुर र भूपेन्द्र दौड पुरा गर्न सकेनन्

टोक्यो ओलिम्पिक्समा एथलेटिक्समा भाग लिएका दुई नेपाली एथलेटिक्स खेलाडीहरू गंगाबहादुर थापा र भूपेन्द्र सिलवालले पनि दौड पूरा गर्न नसकेको उनले बताए । गंगाबहादुर र भूपेन्द्र दौडेको रामप्रसादले टिभीमा हेरेका थिए ।

‘खाली खुट्टा दौडँदा उनीहरूलाई चोट लागेको र जापानी महिलाहरूले उनीहरूको खुट्टामा पानी हालिदिएका थिए।’

अवकासपछि…

सन् १९९० मा क्याप्टेनका रूपमा ब्रिटिश सेनाबाट अवकाश पाउनुअघि बेलाबेला फुटबल, भलिबललगायत खेल खेले पनि सक्रिय रूपमा खेलकुदमा सहभागिता नजनाएको उनी बताउँछन्।

ब्रटिश सेनामा ’सिग्नल’ अर्थात् सञ्चार क्षेत्रमा काम गरेका उनले अवकाशपछिका सात वर्ष ब्रुनाईको फौजमा काम गरे। सन् १९९७ मा नेपाल फर्किएका उनी त्यसयता काठमान्डौं र चितवनस्थित घरमा बसिरहेका छन्।

(बिबिसीबाट)

Facebook Comments Box