युरोकप फाइनलमा पेनाल्टी मिस गर्ने रास्फोर्ड, साका र सान्चोमाथि दुर्व्यवहार

१६औं संस्करणको यरोकपको फाइलनमा पेनाल्टी मिस गरेका इंग्ल्यान्डका तीन खेलाडीमाथि रंगभेदी दुर्व्यवहार भएको छ। आइतबार राति वेम्बलीमा भएको इटालीविरुद्धको फाइनलमा पेनाल्टी सुटआउटमा गोल गर्न नसकेका स्ट्राइकरत्रय मार्कस रास्फोर्ड, जेडन सान्चो र बुकायो साकामाथि सामाजिक सञ्जालमा रंगभेदी दुर्व्यवहार भएको हो।

यी तीन खेलाडीले पेनाल्टीमा गोल गर्न नसकेपछि इंग्ल्यान्ड पहिलो युरोकप उपाधि जित्नबाट वञ्चित भएको थियो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो भने पेनाल्टीमा इंग्ल्यान्ड ३–२ ले पराजित भएको थियो।

रास्फोर्डको प्रहार पोस्टमा लागेको थियो भने सान्चो र साकाको प्रहार इटालीका किपर जियानलुइजी डोनारुमाले बचाएका थिए ।

खेलाडीमाथि रंगभेदी दुर्व्यवहार भएपछि लन्डन प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले समाजिक सञ्जालमा तीन खेलाडीमाथि आएका नकारात्मक र रंगभेदी टिप्पणीको विषयमा जानकार रहेको बताएको छ।

फुटबल संघले पनि तीन खेलाडीमाथि आएको रंगभेदी दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेको छ। यस्तै बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले पनि रंगभेदी दुर्व्यवहारकाे भर्त्सना गरेका छन्।

Facebook Comments Box