ला लिगा : भ्यालेन्सिया र बेटिस विजयी, सोसिडाड र भिल्लारियल रोकिए

शनिबारबाट सुरु भएको स्पेनिस ला लिगाको दोस्रो दिन आइतबार चार खेल भए । चार खेलमा दुई खेल बरारबीमा सकिँदा, दुई खेलमा स्पष्ट नतिजा आयो ।

आइतबारको अन्तिम खेलमा लेभान्तेमाथि ४–२को फराकिलो जित निकाल्दै भ्यालेन्सियाले लिगमा विजयी सुरुवात गरेको छ भने रियल बेटिसले अलाभेसलाई १–०ले हरायो। यता, रियल सोसिडाड र भिल्लारियल भने १–१ गोलको बराबरीमा रोकिए ।

घरेलु मैदानमा एक गोलले पछि परेको अग्रता उल्टाएर भ्यालेन्सियाले सुखद सुरुवात गरेको हो । पहिलो मिनेटमै जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए ।तर, १२औं मिनेटमा गाब्रिएल पाउलिस्टाले गोल गर्दै भ्यालेन्सियालाई १–१ गोलको बराबरी ल्याए ।

३६औं मिनेटमा लुइसले व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई पुनः अग्रता दिलाए । त्यसको ३ मिनेटपछि नै म्याक्सिमिलानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई २–२ गोलको बराबरी फर्काए । पहिलो हाफ २–२को बराबरीमै सकियो ।

७५ औं मिनेटमा म्यानुएल भालेजोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा पहिलो पटक अग्रता दिलाए । इन्जुरी समयमा भालेजोले नै गोल गरेपछि भ्यालेन्सियाले ४–२को सहज जित निकाल्यो ।

यस्तै, आइतबार भएको पहिलो खेलमा रियल बेटिसले अलाभेसमाथि १–०को जित निकाल्दै लिगमा विजयी सुरुवात गरेको छ । दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियन टलोले गोल गरेपछि बेटिस विजयी भयो ।

यसैगरी रियल सोसिडाड रियल भालाडोलिडसँग १–१को बराबरीमा रोकियो । भालाडोलिडको मैदनमा भएको खेलमा ३९औं मिनेटमा मिचेलले गोल गर्दै अग्रता दिलाए । ६०औं मिनेटमा रोबर्टो लोपेजले गोल गर्दै खललाई बराबरीमा ल्याए ।

प्रशिक्षक उनाई एम्रीको टिमका भिल्लारियल भने नवप्रवेशी क्लब हुएस्कासँग १–१को बराबरीमा रोकियो । ४२औं मिनेटमा पाब्लो माफेयोले गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए । तर, ६८औं मिनेटमा जेरार्ड मेर्नोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *