
युभेन्टसले भित्र्यायाे सर्बियन स्ट्राइकर भ्लाहोभिच
सिजनको सुरुआतमा स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि अग्रपंक्तिमा समस्या खेपिरहेको युभेन्ट्सले सर्बियन स्ट्राइकर डुसन भ्लाहोभिचलाई अनुबन्धन गरेको छ। दुई सिजन यता निकै फर्ममा रहेको भ्लाहोभिचलाई युभेन्टसले अर्को इटालियन क्लब फियोरेन्टिनाबाट भित्र्याएको हो।
डुसन भ्लाहोभिचलाई भित्र्याउन युभेन्टसले ७५ मिलियन युरो खर्चियो। २२ वर्षीय भ्लाहोभिचले युभेन्टससँग ४ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२६ सम्म युभेन्टसमा रहने छन्।
रोनाल्डोको स्थान परिपूर्ति गर्न भ्लाहोभिचलाई अनुबन्धन गरेको यभुेन्टसले उनलाई रोनाल्डोकै ७ नम्बरको जर्सी पनि दिएको छ। उनलाई भित्र्याउन प्रिमियर लिग क्लबहरु आर्सनलले पनि चासो देखाएको थियो।
२२ वर्षीय भ्लाहोभिचले जारी सिजन फियोरेन्टिनाका लागि २४ खेलमा २० गोल गरिसकेका छन्। समग्रमा भने उनले सिरि ए क्लबका लागि १०८ खेलमा ४९ गोल गरेका छन्। उनी सन् २०१८मा सर्बियन क्लब पार्टिजनबाट फियोरेन्टिना आएका थिए।
भ्याहोभिचले सर्वियाका लागि १४ खेलमा ७ गोल गरेका छन् ।