लिचेस्टाइनको पोस्टमा जर्मनको गोलको वर्षा, स्पेनले ग्रिसलाई हरायो

२०२२को विश्वकपको युरोपियन छनोटमा जर्मनीले सानदार जित निकालेको छ। बिहीबार राति भएको खेलमा जर्मनीले लिचेस्टाइनलाई ९–० को फराकिलो अन्तरले हरायो।

जर्मनीलाई फराकिलो जित दिलाउन लिरोए साने र थोमस मुलरले समान २ गोल गर्दा इल्केइ गुन्डोगान, मार्को रिउस र रिड्ले बाकुले पनि गोल गरे। यता, दुई गोल आत्मघाती भएको थियो।

वुल्फ्सवर्गमा बिहीबार राति सम्पन्न खेलमा लिचेस्टाइन नवौं मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो। उसका जेन्स होफेर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। सोही अवसरमा प्राप्त पेनाल्टीमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए।

२०औं मिनेटमा ड्यानियल कोउफमानले आत्मघाती गोल गरेपछि जर्मनीको अग्रता दोब्बर भयो। लगत्तै २२औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीलाई ३–०को अवस्थामा ल्याए । त्यसको एक मिनेटपछि मार्को रिउसले गोल गरेपछि पहिलो हाफमा जर्मनीले ४–०को अग्रता लियो।

त्यसपछि ४९औं मिनेटमा साने, ७६औं र ८६औं मिनेटमा मुलर तथा ८०औं मिनेटमा बाकुले गोल गरेपछि जर्मनीले ८–०को अग्रता लियो । खेलको अन्तिम समयमा म्याक्सिमिलियन गोप्पेलले आत्मघाती गोल गरेपछि जर्मनीले ९–० को फराकिलो जित निकाल्न सफल भयो।

यही समूहको अर्को खेलमा नर्थ म्यासेडोनियाले अर्मेनियालाई ५–० ले पराजित गरेको छ। नर्थ म्यासेडोनियाको जितमा इनिस बारदीले ह्याट्रिक गरे। जितपछि समूह ‘जे’ मा शीर्षस्थानमा रहेको जर्मनीको ९ खेलबाट २४ अंक पुगेको छ। जितसँगै नर्थ म्यासेडोनिया ९ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित अर्मेनिया १२ अंक जोडेर चौथो स्थानमा रहेको छ।

यसैगरी बिहीबार राति नै भएको अर्को खेलमा स्पेन विजयी भएको छ। पाब्लो साराबियाको निर्णायक गोल मद्दतमा स्पेनले ग्रिसमाथि १–०को जित निकाल्यो । सारावियाले २६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

जितसँगै स्पेन ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समूहकै अर्को खेलमा जर्जियासँग स्वीडेन २–० ले पराजित बनेको छ। स्वीडेन पराजित भएसँगै स्पेन शीर्षस्थानमा उक्लन सफल भएको हो। पराजित ग्रीस ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

Facebook Comments Box