
ए डिभिजन लिगमा फ्रेन्ड्सको पहिलो जित, ब्रिगेड बोइज ५–२ले पराजित
जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ। लिगमा पहिलो जित निकाल्ने क्रममा फ्रेन्ड्सले शुक्रबार दिउँसो भएको खेलमा ब्रिगेड बोइज क्लबलाई ५–२ ले हरायो ।
फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरे भने श्यामबाबु केप्छ्याकीले एक गोल गरे। ब्रिगेड बोइजका ड्याडी जुनियर बाम्बा र अनिल गुरुङले गोल फर्काए।
१४ औं मिनेटमा सुशीलले फ्रि–किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए। तर, २५औं मिनेटमा ड्याडीले फ्रि–किकमै बराबरी गोल फर्काए। मार्फत गोल गर्दै ब्रिगेडलाई १–१ गोलको बराबरीमा ल्याए।
२७औं मिनेटमा श्यामले गोल गर्दै फ्रेन्ड्सलाई पुनःअग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा जमउलले गोल गरेपछि पहिलो हाफमा फ्रेन्ड्सले ३–१को अग्रता लियो।
७६औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४–१ को अग्रता दिलाए। प्रिजेन तामाङको पासमा उनले ब्रिगेडका गोलकिपर सिंहलाई बिट गर्दै सहजै गोल गरे।
खेलको ७८औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५–१ को अग्रता दिलाए। त्यसपछि खेलको ८६ औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गरेपनि फ्रेन्ड्स ५–२ ले विजयी भयो।