ए डिभिजन लिगफुटबल

मछिन्द्रको उपाधि होडमा आर्मीको धक्का

यसअघिका २ सिजनको विजेता मछिन्द्र क्लब तेस्रो पटक उपाधि जित्ने होडमा छ । तर, उसको तेस्रो पटक उपाधि जित्ने अभियानमा त्रिभुवन आर्मी क्लबले धक्का दिएको छ।

लिगका अब चार चरणको खेल मात्र बाँकी रहँदा मछिन्द्र महत्वपूर्ण खेलमा शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग १–१को बराबरीमा रोकियो।

लिगमा मछिन्द्रको यो लागतार तेस्रो बराबरी हो । यसअघि जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको थियो।

बराबरीपछि २२ खेलमा ३६ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ। यो शीर्ष स्थानको चर्च बोइज युनाइटेडभन्दा २ अंक कम हो । चर्च बोइजले एक खेल कम खेलेको छ। आर्मी ३० अंकसहित चौथो स्थामै छ।

शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा १७औं मिनेटमा दिनेश हेन्जनको गोलमा आर्मीले सुरुआती अग्रता लियो । तर, खेलको ६० औं मिनेटमा आर्मीका युद्द शाहीले आत्मघाती गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो।