त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जगजित श्रेष्ठ ए डिभिजन लिग नसकिँदै अस्ट्रेलिया फर्किएका छन्। लिग खेल्नैका लागि अस्ट्रेलियाबाट नेपाल आएका नेपाली राष्ट्रिय टिमका पूर्व मिडफिल्डर जगजित लिग नसकी अस्ट्रेलिया फर्किएका हुन्।
जगजित पारिवारिक कारणले अस्ट्रेलिया फर्किएको बताइएको छ। जगजितले जारी लिगका २२ मध्ये १४ खेल खेल्दै २ गोल गरेका थिए। उनले चोटका कारण केही खेल भने गुमाएका थिए।
नेपाली सेना शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख मुनाल बस्नेतले परिवारसँगै ल्याएकाले उनीहरुसँगै फर्किनु पर्ने भएाकले जगजित लिग छाडेको बताए।
जगिजतले पछिल्लो पटक आर्मीका लागि गत बुधबार एनआरटीविरुद्ध १–० ले पराजित भएको खेल खेलेका थिए। उक्त खेलमा उनले एक घण्टामात्र खेले । जगजितको स्थानमा ६०औं मिनेटमा जिलेस्पी जंग कार्की मैदान प्रवेश गरेका थिए। त्यसपछिका २ खेलमा भने उनी टिममा थिएनन्।