च्यासलविरुद्ध आर्मी विजयी, शीर्ष स्थानमा ३ अंकको अग्रता

विभागीय क्लब त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ । दशरथ रंगशालामा सातौँ चरणको अन्तिम खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३–० को अन्तरले हराउँदै दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबसँग तीन अंकको दूरी बनाएको हो ।

आर्मीले सात खेलबाट १६ अंक बटुलेको छ । मच्छिन्द्रले सात खेलबाट १३ अंक जोडेको छ । अब आर्मीले लिगका आगामी चरणमा न्युरोड टिम (एनआरटी), नेपाल पुलिस, एपिएफ र मच्छिन्द्रसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यी सबै खेलमा जित निकाल्नुपर्ने र शीर्ष स्थानमा यथावत् रहनुपर्ने दबाब आर्मीमाथि रहेको प्रशिक्षक नवीन न्यौपानेले बताएका छन् । ‘आर्मीले शीर्ष स्थान यथावत् राख्दै उपाधि जित्न आउँदा खेलमा जित निकाल्नुपर्छ,’ खेलपछि पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक नवीनले भने, ‘हामीसामु प्रतिद्वन्द्वी सहज छैनन्, सबै राम्रो लयमा छन् ।’

आर्मीलाई महŒवपूर्ण तीन अंक दिलाउन कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक–एक गोल गरेका थिए । यसैगरी, सोमबारको पहिलो खेलमा संकटा र ब्रिगेड ब्वाइजबीच गोलरहित बराबरी भयो ।

पहिलोभन्दा दोस्रो हाफमा च्यासलका खेलाडीमा तालमेल मिलेको देखिएन । मिडफिल्डका खेलाडीबाट कप्तान तथा स्ट्राइकर सन्तोष साहुखलले केही पास मात्र पाए । डिफेन्सका खेलाडीले आर्मीका चार स्ट्राइकरमाथि खासै मार्किङ गरेनन् ।

आर्मीविरुद्धको प्रतिस्पर्धामा खेलाडीले टिमवर्क र योजनाअनुसार प्रतिस्पर्धा नगरेको च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले स्विकारेका छन् । एक वा दुई खेलाडीको प्रदर्शनमा मात्र जित निकाल्न नसक्ने उनको भनाइ रह्यो ।

‘एक वा दुई खेलाडीको भरमा कहिले पनि खेल जित्न सकिन्न,’ चालू लिगमा पहिलोपटक निकै निराश देखिएका च्यासलका प्रशिक्षक बालगोपालले भने, ‘स्कोरिङ नहुँदा खेलाडी योजनाविहीन भए, उनीहरू आफूखुसी खेल्न थाले ।’ आर्मीसँग पराजित हुनुमा यही कारण रहेको उनले बताए । ‘खेल जित्न टिमवर्कको भावना हुनुपर्छ, खेलाडीबीच आपसी तालमेल र सहयोग हुनुपर्छ,’ उनले भने ।

आर्मीका प्रशिक्षक न्यौपानले खेलाडीको टिमवर्कले नै जित निस्किएको बताए । यद्यपि, सुरुमा मौसम चिसो हुँदा केही समस्या आएको उनले बताए । तर, मध्यान्तरपछि मिडफिल्डर र स्ट्राइकरबीच राम्रो समन्वय हुँदा आर्मी शीर्ष स्थानमा उक्लिएको उनको भनाइ छ ।

‘कप्तानले गोल गर्नुअघिसम्म खेल बराबरीकै अवस्थामा थियो, उनको गोलपछि खेलाडीले बेग्लै जोसमा प्रदर्शन गरे,’ न्यौपानले भने, ‘एक गोलले पछि परेपछि च्यासलका खेलाडी आक्रामक भए, जसका कारण हामीले गोल गर्न स्पेस पायौँ ।’ खेलमा च्यासलका सुनील बल घाइते भए । आर्मीका खेलाडीको प्रहार छेक्ने क्रममा बल उनको आँखामा लागेको थियो । तत्कालै उनलाई एम्बुलेन्समा राखेर अस्पताल पु¥याइयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.