ए डिभिजन लिग स्थगित गर्न ललितपुरका ४ क्लबको माग

असोज ३ गतेदेखि सुरु हुने भनिएको सहिद स्मारक ए डिभिजन लिग स्थगित गर्न ललितपुरका ४ क्लबले माग गरेका छन्। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा ज्ञापन पत्र बुझाउँदै ललितपुरका ४ क्लब थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजले लिग स्थागित गर्न माग गरेका हुन्।

उनीहरुले कोरोनाको असर कायमै रहेकाले तत्काल लिगका गतिविधि सुरु गर्न उपयुक्त नहुने भन्दै लिग स्थागित गर्न माग गरेका हुन्। उनीहरुले एन्फा अध्यक्षको विशेष आग्रहमा मार्केटिङका लागि असोज ३ को मिति तय गरेको तर त्यसपछि ए डिभिजन क्लबको बैठक नै नबसी टिम दर्ताका लागि एकपक्षीय रुपमा पत्र पठाइएको पनि आरोप लगाएका छन् । उनीहरुले यथाशीघ्र क्लबहरुको बैठक बोलाउन र लिग उपयुक्त समयमा गर्नका लागि माग गरेका छन्।

आगामी असोज पहिलो सातादेखि लिग संचालन गर्नका लागि एन्फाले ए डिभिजन क्लबहरूलाई साउन १० सम्म टिम दर्ता गर्न भनेको छ। सोहीअनुरुप क्लबहरूले खेलाडी भित्र्याएर टिम बनाउने क्रम जारी छ।

यसअघि असार १४ गते एन्फा र ए डिभिजन क्लबको संयुक्त बैठकमा लिगको मार्केटिङका लागि मात्र मिति घोषणा गर्ने सहमति भएको उनीहरूको दाबी छ। मंगलबार एन्फामा बुझाइएको ज्ञापन पत्रमा जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्सका अध्यक्ष दीपक थापा, थ्रीस्टारका महासचिव सन्जिव शिल्पकार र ब्रिगेडका अध्यक्ष लालकुमार पुनले हस्ताक्षर गरेका छन्।

असोज ३ देखि नै लिग शुरु गर्ने भनेपछि केही क्लबहरुले आन्तरिक रुपमा तयारी पनि थालिसकेका छन् । तर ललितपुरका चार क्लबहरुले असोज ३ गते लिग गर्न उपयुक्त नभएको भन्दै असहमति जनाएपछि एन्फाले तोकेको मितिमा लिग हुनेमा आशंका बढेको छ ।

कोरोना महामारीको भयावह स्थितिमा पनि ए डिभिजन लिग आयोजना गर्नु कुनै पनि हालतमा उपयुक्त नभएको ठहर गर्दै चार क्लबले संक्रमण दरमा कमी आएपछि मात्र लिगलगायत फुटबल गतिविधि गर्न उपयुक्त हुने जनाएका छन् ।

Facebook Comments Box