
ए डिभिजन लिग आजबाट, खुमलटार र फ्रेन्ड्स भीड्ने
सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदै छ, जहाँ काठमाडौं र ललितपुरका १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
पहिलो पटक डलब राउन्ड रोबिनका आधारमा हुने लिगको आज हुने उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटारले फ्रेन्ड्स क्लबको सामाना गर्नेछ। लिगको पहिलो ललितपुर डर्बी साँझ ५ः३० बजे दशरथ रंगशालामा हुनेछ।
खुमलटार ुबीु डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो । शीर्ष डिभिजनको डेब्यु खेलमा खुमलटार सुखद सुरुआत गर्न चाहन्छ।
खुमलटार यस पटक उपाधि जित्ने योजनामै छ । खेलाडी अनुबन्धमा समेत खुमलटार निकै आक्रमक देखिएको थियो।
गत सिजनजस्तै ४५ औं संस्करणमा पनि शीर्षस्थानमा रहने एक टिम च्याम्पियन बन्नेछ भने पुछारका दुई क्लब घटुवा भएर बी डिभिजनमा झर्नेछ । लिगमा २०६६–६७ यता सहभागी क्लबले एकअर्काविरुद्ध २–२ खेल खेल्दैछन्, यस्तो ‘डबल लिग’ नै यसपालिको विशेषता हो ।
दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको ‘आर्टिफिसियल टर्फ’ सँगै नवनिर्मित च्यासल रंगशाला पनि प्रयोगमा ल्याइँदैछ, जुन लिगमा नयाँ खेलस्थल हुनेछ । क्लबहरूलाई एक साताभित्र तीन खेल खेल्नुपर्ने परम्परागत समस्या यथावत् नै छ ।
राष्ट्रिय टिम, उमेर समूह र घरेलु प्रतियोगितामा चलेका फुटबलरहरूको अस्ट्रेलिया पलायनले उपाधि होडका केही टिमको संरचनामा पारेको असर मैदानमै देखिन सक्छ । नयाँ खेलाडी वा प्रतिभा उदाउने सम्भावना पनि उत्तिकै छ ।
‘खेलाडी स्थानान्तरण बजार’ र विदेशी खेलाडी अनुबन्धको प्रयासमा भएको चलखेलअनुसार मछिन्द्र ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्दै रानीपोखरी कर्नर टिम ९आरसीटी०, मनाङ मर्स्याङ्दी र पुलिस क्लबको कीर्तिमान बराबरी गर्ने योजनामा छ ।
घरेलु फुटबलका परम्परागत शक्ति मनाङ, थ्रीस्टार र आर्मीको फेरि झन्डै चार महिनासम्म परीक्षण हुनेछ । सुनील बल, मनीष डाँगीलाई भित्र्याएर बलियो बनेको संकटाको लक्ष्य पनि ट्रफी चुम्ने नै हो । गत सिजनमात्रै बी डिभिजनबाट उक्लिएका चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटारमा रूपान्तरण भएको खुमलटार युवा क्लब मनाङजस्तै शीर्ष लिगको ‘डेब्यु’ मै च्याम्पियन बन्न चाहन्छन् ।